काठमाडौं । नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडले १५ वर्षको सफल यात्रा पूरा गर्दै शुक्रबारदेखि १६औँ वर्षमा प्रवेश गरेको छ । स्थापना दिवसको अवसरमा संस्थाले सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत काठमाडौंको नक्सालस्थित नारायणचौरको प्राङ्गणमा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
२०६६ साल माघमा स्थापना भएको नबिल इन्भेस्टमेन्टले नेपालको पूँजी बजार र लगानी व्यवस्थापन क्षेत्रमा निरन्तर योगदान दिँदै आएको छ । व्यावसायिकता, सुशासन, पारदर्शिता तथा ग्राहक–केन्द्रित सेवालाई प्राथमिकतामा राख्दै संस्थाले स्थापना कालदेखि नै संस्थागत विश्वास निर्माण गर्न सफल भएको जनाएको छ । बदलिँदो वित्तीय परिवेशअनुसार सेवा र संरचनामा निरन्तर परिमार्जन गर्दै अघि बढिरहेको संस्थाको भनाइ छ ।
नबिल इन्भेस्टमेन्टले मर्चेन्ट बैंकिङ सेवाअन्तर्गत सेयर निष्कासन तथा बिक्री प्रबन्धन, डिपी सेवा, सेयर रजिस्ट्रार, सेयर प्रत्याभूति लगायतका सेवा प्रदान गर्दै आएको छ । त्यस्तै, इन्भेस्टमेन्ट बैंकिङतर्फ लगानी व्यवस्थापन, सामूहिक लगानी कोष तथा संस्थागत परामर्श सेवासमेत सञ्चालन गर्दै आएको छ ।
यसका अतिरिक्त संस्थाले कर्पोरेट एडभाइजरी सेवाअन्तर्गत पुनर्संरचना (रिस्ट्रक्चरिङ), मूल्यांकन (भ्यालुएसन), व्यवसायिक योजना निर्माण, लोन सिन्डिकेशन, सम्पत्ति व्यवस्थापन, मर्जर तथा एक्विजिसन र लगानीसम्बन्धी परामर्श सेवाहरू प्रदान गर्दै आएको जनाएको छ । संस्थाले निकट भविष्यमा विशिष्टीकृत लगानी कोषअन्तर्गत प्राइभेट इक्विटी फन्ड सञ्चालन गर्ने तयारीसमेत गरिरहेको जानकारी दिएको छ ।
१५औँ वर्षको उपलब्धिलाई संस्थागत गौरवका रूपमा मनाउँदै नबिल इन्भेस्टमेन्टले आगामी दिनमा नवीन सोच, सुदृढ जोखिम व्यवस्थापन, प्रविधिमैत्री सेवा तथा दिगो लगानी अभ्यासमार्फत नेपाली पूँजी बजारको विकासमा थप योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ ।
संस्थाले यस यात्रामा साथ र सहयोग गर्ने आफ्ना ग्राहक, नियामक निकाय, सञ्चारकर्मी, संस्थापक कम्पनी तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ प्रभावकारी र गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता पनि जनाएको छ ।
आर्थिकन्यूज