शीर्षकहरू

रास्वपा उम्मेदवारको गाडीका चालकविरुद्ध सवारी ज्यान मुद्दा दर्ता

रास्वपा उम्मेदवारको गाडीका चालकविरुद्ध सवारी ज्यान मुद्दा दर्ता

काठमाडौं । रौतहट क्षेत्र नम्बर २ का रास्वपा उम्मेदवार शेख सगिर आलमको प्रचारमा प्रयोग भएको गाडीले ४ वर्षीया बालिका अल्फा खातुनलाई ठक्कर दिँदा मृत्यु भएपछि चालक मुस्ताक आलमविरुद्ध सवारी ज्यान मुद्दा दर्ता गरिएको छ।

घटनापछि प्रहरीले चालकलाई नियन्त्रणमा लिएको र अनुसन्धानका लागि जिल्ला अदालतबाट म्याद थप गरेको छ। घटनास्थलको सीसीटीभी फुटेज संकलन गरी प्रहरी अनुसन्धान अगाडि बढाइरहेको छ।

प्रहरीका अनुसार, मठियाटोल, ईशनाथ नगरपालिका–४ मा बालिका सडक काट्दै गर्दा गाडीले उनलाई ठक्कर दिएको थियो। स्थानीयले तत्कालै बालिकालाई गौरस्थित सिटी अस्पताल पुर्‍याए, तर उनको मृत्यु भएको थियो।

रास्वपा उम्मेदवार आलमले घटनाको समयमा आफू घरदैलो कार्यक्रममा व्यस्त रहेको र गाडी चालक मात्र सवारी चलाइरहेको बताएका छन्। रास्वपाले पनि घटनाप्रति दुःख व्यक्त गर्दै प्रशासनसँग छानबिनमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटले दुर्घटनामा चालकको लापरबाही भए नभएको विषय अनुसन्धानपछि स्पष्ट हुने जनाएको छ।