शीर्षकहरू

‘वेब समिट कतार २०२६’ मा टिङटिङः नेपाली प्रविधि विश्वमञ्चमा प्रदर्शित

‘वेब समिट कतार २०२६’ मा टिङटिङः नेपाली प्रविधि विश्वमञ्चमा प्रदर्शित

काठमाडौं। विश्वकै सबैभन्दा प्रभावशाली प्रविधि सम्मेलन ‘वेब समिट कतार २०२६’ मा नेपाली एआई कम्पनी टिङटिङ ले ऐतिहासिक उपलब्धि हासिल गरेको छ। फेब्रुअरी ४ मा कतारको दोहामा सम्पन्न चार दिने उक्त सम्मेलनमा टिङटिङ नेपालबाट एकमात्र प्रतिनिधित्व गर्ने स्टार्टअपको रूपमा सहभागी भएको थियो।

विश्वभरका १,६०० भन्दा बढी स्टार्टअपबीच प्रतिस्पर्धा हुने यो सम्मेलनमा टिङटिङको छनोट हुनु आफैँमा ठूलो उपलब्धि मानिएको छ। नेपालमै निर्माण भएको आफ्नै एआई इन्जिन ‘रिरी’ र स्थानीय भाषालाई बुझ्ने प्रणालीका कारण कम्पनीले विश्वमञ्चमा आफ्नो स्थान सुरक्षित गरेको हो।

सम्मेलनको ‘स्टार्टअप शोकेस’ कार्यक्रममा टिङटिङकी डाइरेक्टर अफ इन्जिनियरिङ एन्जेलिका साह ले प्रस्तुति दिँदै नेपालमा विकसित एआई प्रविधिले कसरी संस्थाहरूलाई ग्राहक व्यवहार गहिरो रूपमा बुझ्न मद्दत गर्दै आएको छ भन्ने देखाएकी थिइन्।

टिङटिङको टोलीले सम्मेलन अवधिभर अन्तर्राष्ट्रिय लगानीकर्ता र प्रविधि क्षेत्रका दिग्गजहरूसँग संवाद गर्दै नयाँ साझेदारीको सम्भावना पनि खोजेको छ। यस सहभागिताले नेपाली स्टार्टअप इकोसिस्टमका लागि अन्तर्राष्ट्रिय लगानी र विश्वव्यापी साझेदारीको नयाँ बाटो खोल्ने विश्वास गरिएको छ।

टिङटिङ नेपालमै विकसित एआई–पावर बिजनेस कम्युनिकेसन सुइट हो, जसले भ्वाइस, टेक्स्ट, इनबाउन्ड–आउटबाउन्ड, टेलिफोन वा सामाजिक सञ्जाल सबै च्यानललाई एउटै प्रणालीमा समेटेर ग्राहक संवाद व्यवस्थापन गर्न सक्षम बनाउँछ।