काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कम्पनीको सञ्चालन आम्दानी गत वर्षको तुलनामा उल्लेख्य रूपमा घटेको छ।
गत वर्षको पहिलो ६ महिनामा ३१ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले यस वर्ष सोही अवधिमा मात्र ४ करोड २४ लाख रुपैयाँ आम्दानी गरेको छ। साइलोमा भण्डारण गरिएको अन्नको भुक्तानी माग बढेकाले मौज्दात कम हुँदै गएको र वेयरहाउस रिसिप्ट समयमै लागू नभएकाले अपेक्षित आम्दानी गर्न नसकेको कम्पनीले जनाएको छ।
तर आम्दानी घटेपनि नोक्सानी भने कम भएको छ। गत वर्षको दोस्रो त्रैमाससम्ममा ५ करोड ७४ लाख रुपैयाँ नोक्सानीमा रहेको कम्पनी यस वर्ष सोही अवधिमा २ करोड ९ लाख रुपैयाँ नोक्सानीमा सीमित भएको छ। खर्च घटेकाले नोक्सानी कम भएको कम्पनीको भनाइ छ।
पुस मसान्तसम्म कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ६ रुपैयाँ ९ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ १०१ रुपैयाँ २४ पैसा रहेको छ। ६८ करोड ७५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको अन्य इक्विटी २० करोड २५ लाख रुपैयाँ ऋणात्मक देखिएको छ।
आर्थिकन्यूज