शीर्षकहरू

तरलता व्यवस्थापनमा राष्ट्र बैंकलाई सकस : ४२ दिनका लागि ५० अर्ब तान्दै, राष्ट्र बैंकमा थुप्रियो साढे ८ खर्ब

तरलता व्यवस्थापनमा राष्ट्र बैंकलाई सकस : ४२ दिनका लागि ५० अर्ब तान्दै, राष्ट्र बैंकमा थुप्रियो साढे ८ खर्ब

काठमाडौं । पछिल्लो समय नेपाली बैंकिङ प्रणालीमा बढेको अधिक तरलता व्यवस्थापन राष्ट्र बैंकका लागि चुनौती बन्दै गएको छ । बजारमा कर्जाको माग घट्नु, आर्थिक गतिविधिमा शिथिलता आउनु र बैंकहरूले लगानीयोग्य क्षेत्रहरूमा अपेक्षित कर्जा प्रवाह गर्न सकेका छैनन्। यसले बैंकहरूमा ठूलो परिमाणमा रकम थुप्रिन गएको छ।

तरलता बढेसँगै अन्तरबैंक ब्याजदर २.७५ प्रतिशतसम्म झरेको छ। ब्याजदर करिडोरको तल्लो सीमाभन्दा तल नजाओस् भन्नका लागि राष्ट्र बैंकले बजारबाट निरन्तर रकम तान्नुपरेको छ। यही क्रममा केन्द्रीय बैंकले ४२ दिनका लागि ५० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । केन्द्रीय बैंकले आइतबार बोलकबोल प्रक्रियामार्फत उक्त रकम संकलन गर्न लागेको हो।

राष्ट्र बैंकका अनुसार निक्षेप संकलन उपकरणको बोलकबोल अनलाइन प्रणालीमार्फत हुनेछ। बैंक तथा वित्तीय संस्थाले आज दिउँसो २ बजेदेखि ३ बजेसम्म बोलपत्र पेस गर्न सक्नेछन्। निक्षेपको ब्याजदर बोलकबोलकै माध्यमबाट निर्धारण हुनेछ भने सावाँ तथा ब्याज भुक्तानी २०८२ चैत ८ गते गरिनेछ।

निक्षेप संकलनमा सहभागी हुन इच्छुक बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोल गर्न सक्नेछन्। बहुब्याजदरमा समेत बहुबोलकबोल गर्न सकिने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ।

रकम बाँडफाँट गर्दा सबैभन्दा कम ब्याजदर बोल गर्ने संस्थालाई पहिलो प्राथमिकता दिइनेछ। त्यसपछि क्रमशः बढी ब्याजदरका बोलहरू स्वीकार गर्दै आह्वान गरिएको रकम पूरा गरिनेछ। यस निक्षेप संकलनमा नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्।

साढे ८ खर्ब राष्ट्र बैंकमा

वित्तीय प्रणालीमा अधिक तरलता (लगानीयोग्य पूँजी) कायम भएपछि साढे ८ खर्ब रुपैयाँ नेपाल राष्ट्र बैंकमा थुप्रिएको छ । केन्द्रीय बैंकले बैंकिङ प्रणालीको तरलता व्यवस्थापनका निक्षेप संकलन बोलकबोल, स्थायी तरलता सुविधा तथा राष्ट्र बैंक ऋणपत्र उपकरणमार्फत बजारबाट तरलता उठाएको हो ।

राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार बैंकहरुको तरलताको ८ खर्ब ६१ अर्ब २५ करोड रुपैयाँ राष्ट्र बैंकमा रहेको छ । जसमध्ये निक्षेप संकलन बोलकबोलमा ४ खर्ब ७४ अर्ब ५५ करोड, स्थायी निक्षेप सुविधामा १ खर्ब ८६ अर्ब ७० करोड र राष्ट्र बैंक ऋणपत्रमा २ खर्ब रुपैयाँ लगानी रहेको छ ।

हाल बैंकिङ प्रणालीमा कुल निक्षेप करिब ७७ खर्ब रुपैयाँ छ। दीर्घकालीन प्रकृतिको अधिक तरलता र ब्याजदर व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण, स्थायी निक्षेप सुविधा र ऋणपत्रजस्ता खुला बजार उपकरण प्रयोग गर्दै आएको छ।