शीर्षकहरू

नागरिक लगानी कोषको नाफा ६.९२ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी १९.५५ रुपैयाँ

नागरिक लगानी कोषको नाफा ६.९२ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी १९.५५ रुपैयाँ

काठमाडौं। नागरिक लगानी कोष (सीआईटी) ले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्म ६६ करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।  कोषको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.९२ प्रतिशतले बढेको हो। अघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कोषले ६२ करोड २२ लाख रुपैयाँ नाफा कमाएको थियो।

समीक्षा अवधिमा कोषको कुल आम्दानी १ अर्ब ६ करोड रुपैयाँ पुगेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा २.८६ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यस अवधिसम्म कोषको कुल आम्दानी १ अर्ब ३ करोड रुपैयाँ रहेको थियो। यस अवधिमा सेवा शुल्क तथा कमिसन आम्दानी बढेपछि कोषको नाफामा सुधार आएको देखिएको छ। सेवा शुल्क तथा कमिसन आम्दानी ८१ करोड १ लाख रुपैयाँबाट बढेर ८३ करोड ९४ लाख रुपैयाँ पुगेको छ। यद्यपि खुद ब्याज आम्दानी भने १९ करोड ३३ लाख रुपैयाँबाट घटेर १७ करोड ३६ लाख रुपैयाँमा सीमित भएको छ।

कोषको कुल खर्च घटेको छ। अघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमाससम्म २० करोड ८६ लाख रुपैयाँ रहेको खर्च चालु आवको सोही अवधिमा घटेर १८ करोड १८ लाख रुपैयाँमा सीमित भएको छ।

समीक्षा अवधिसम्म कोषले २ खर्ब ९८ अर्ब रुपैयाँबराबरको कुल लगानी गरेको छ। कोषको लगानीमध्ये मुद्दती निक्षेपमा १ खर्ब ४५ अर्ब रुपैयाँ, नेपाल सरकारको ऋणपत्रमा १ अर्ब ३१ करोड रुपैयाँ, समयकालीन कर्जामा २६ अर्ब ३१ करोड रुपैयाँ, संगठित संस्थाको सेयरमा ३१ अर्ब ६८ करोड रुपैयाँ र सहायक कम्पनीहरूमा २ अर्ब ७२ करोड रुपैयाँ लगानी रहेको छ।

हाल कोषको चुक्ता पुँजी ६ अर्ब ८० करोड ५७ लाख रुपैयाँ रहेको छ भने जगेडा कोष १२ अर्ब २८ करोड रुपैयाँ पुगेको छ। समीक्षा अवधिसम्म कोषको प्रतिसेयर आम्दानी १९.५५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १४२.४० रुपैयाँ र लगानी प्रतिफल ४.४९ प्रतिशत कायम भएको छ।