शीर्षकहरू

६ महिनामा १५ सय बढी 'ट्रेडमार्क' दर्ता, ४३ वटाको मुद्धा फैसला

६ महिनामा १५ सय बढी 'ट्रेडमार्क' दर्ता, ४३ वटाको मुद्धा फैसला

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/०८३ को ६ महिनामा १ हजार ५०० बढी ट्रेडमार्क दर्ता भएको छ । चालु आवको साउन देखि पौष मसान्तसम्म १ हजार ५२० वटा ट्रेडमार्क दर्ता भएको उद्याेग विभागका सूचना अधिकारी सुरेश दाहालले जानकारी दिए । 

अधिकारी दाहालका अनुसार  पौष महिनामा मात्रै ५०४ वटा दर्ता भएका हुन् । हालसम्म ७० हजार ३३५ वटा ट्रेडमार्क दर्ता गरिएको छ । चालु आर्थिक वर्षको अन्त्यसम्ममा ट्रेडमार्क दर्ता संख्या ७३ हजार ८१५ पुर्याउने विभागको लक्ष छ । 

ट्रेडमार्क दर्तासँगै ट्रेडमार्क जुदने समस्या पनि बढ्न थालेको विभागको भनाई छ । यस अवधिमा उस्तै उस्तै ट्रेडमार्क भएको भन्दै विभागमा सयौको उजुरी परेको छ । जसमध्ये ४३ वटाको भने विभागले फैसला पनि गरिसकेको अवस्था छ । २ वटाको फैसला पौष महिनामा नै भएको हो । 

कुनै फर्म, कम्पनी वा व्यक्तिले आफ्नो उत्पादित मालसामान वा आफूले प्रदान गर्ने सेवालाई अरूको मालसामान वा सेवाबाट फरक देखाउन प्रयोग गरिने शब्द चिन्ह वा चित्र वा शब्द, चिन्ह र चित्र तिनै कुराको संयोगलाई नै ट्रेडमार्क भनिन्छ । पेटेन्ट डिजायन र ट्रेडमार्क ऐन २०२२ अनुसार ट्रेडमार्क दर्ता गरिन्छ ।

ट्रेडमार्क प्रयोग गर्ने म्यादः उद्योग विभागमा दर्ता भएको ट्रेडमार्क दर्ता भएको मितिले एक वर्षसम्ममा प्रयोगमा नल्याएमा विभागले आवश्यक जाँचबुझ गरी त्यस्तो ट्रेडमार्क दर्ता खारेज गर्न सक्ने कानूनी प्रावधान रहेको छ । उद्योग विभागमा दर्ता गरिएको मितिबाट ७ वर्षसम्म सो ट्रेडमार्क उपर ट्रेडमार्कवालाको हक लाग्नेछ । ७ वर्ष पुग्न ४५ दिन अगाडि पुन नविकरण गर्नुपर्ने हुन्छ । ट्रेडमार्क दर्ताका लागि ५ हजार शुल्क लाग्ने विभागले जनाएको छ । 

कुनै व्यक्ति वा संस्थाको प्रतिष्ठामा धक्का पर्ने वा सर्वसाधारण जनताको सदाचार वा नैतिकता वा राष्ट्रिय हितमा नराम्रो असर पर्ने वा अरू कसैको ट्रेडमार्कको ख्यातिमा धक्का पर्ने सम्भावना छ भने, सो ट्रेडमार्क पहिले अरू कसैको नाममा दर्ता भैसकेको देखिएमा सो ट्रेडमार्क दर्ता हुँदैन ।