टोकियो। जापानका प्रधानमन्त्री साने ताकाइचीले आफ्नो दललाई महत्त्वाकाङ्क्षी रूढीवादी राजनीतिक एजेन्डा अघि बढाउन पर्याप्त जनसमर्थन प्राप्त हुने आशा व्यक्त गर्दै आइतबार संसदीय निर्वाचनको मतदान सुरु भएको छ ।
सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) ले आर्थिक सहयोग र धार्मिक घोटालाका कारण दबाब झेले पनि ताकाइचीले त्यसलाई उल्ट्याउने विश्वाससहित मध्यावधि निर्वाचनको आह्वान गरेकी हुन् ।
ताकाइची लोकप्रिय नेताका रूपमा चिनिन्छिन् । विगत सात दशकदेखि जापानमा शासन गर्दै आएको एलडिपी हाल विश्वासको सङ्कटमा परे पनि उनले दक्षिणपन्थी एजेन्डामार्फत अर्थतन्त्र र सैन्य क्षमता बलियो बनाउने लक्ष्य राखेकी छन् ।
चीनसँग बढ्दो तनावकाबीच जापानको सुरक्षा क्षमता विस्तार गर्नु र प्रमुख अमेरिकी सहयोगीसँगको सम्बन्ध थप सुदृढ बनाउनु उनका प्रमुख प्राथमिकता हुन् ।
अक्टोबरमा जापानको पहिलो महिला प्रधानमन्त्रीका रूपमा पदभार ग्रहण गरेकी अल्ट्राकन्जरभेटिभ ताकाइचीले ‘काम गर्ने, काम गर्ने, काम गर्ने’ भन्ने नारासहित सक्रिय नेतृत्वको प्रतिज्ञा गरेकी छन् । उनको स्पष्ट र कडा शैलीले युवा मतदातामाझ पनि समर्थन पाएको देखिन्छ ।
हालैका सर्वेक्षणले तल्लो सदनमा एलडिपीको उल्लेखनीय जित हुनसक्ने सङ्केत गरेका छन्। नयाँ मध्यमार्गी गठबन्धन र बढ्दो अति–दक्षिणपन्थी समूहहरू उदाए पनि विपक्षीले ठोस चुनौती दिन सक्ने अवस्था कमजोर देखिएको छ ।
ताकाइचीले आफ्नो दल एलडिपीले नयाँ साझेदार जापान इनोभेसन पार्टीसँग मिलेर ४६५ सिटको तल्लो सदनमा बहुमत हासिल गर्ने अपेक्षा गरेकी छन् ।
प्रमुख जापानी अखबारहरूको सर्वेक्षणअनुसार एलडिपीले एक्लै साधारण बहुमत ल्याउन सक्ने सम्भावना छ भने गठबन्धनले करिब ३०० सिट जित्न सक्छ । यदि बहुमत प्राप्त गर्न असफल भए आफूले राजीनामा दिने ताकाइचीको चेतावनी छ ।
ताकाइचीको सम्भावित ठूलो जितले जापानको सुरक्षा, आप्रवासन र अन्य नीतिहरूलाई दक्षिणतर्फ उल्लेखनीय रूपमा मोड्न सक्ने अनुमान गरिएको छ ।
उनले सैन्य क्षमता विस्तार, हतियार निर्यातसम्बन्धी प्रतिबन्ध हटाउने र युद्धपछिको शान्तिवादी नीतिबाट क्रमशः टाढा जाने वाचा गरेकफ छन् । साथै विदेशीहरूमाथि कडा नीति, जासुसीविरोधी उपाय र रक्षा खर्च वृद्धि गर्ने योजना पनि प्रस्तुत गरेकी छन् , जसबारे नागरिक अधिकार कमजोर पर्न सक्ने चिन्ता विज्ञहरूले व्यक्त गरेका छन् ।
आइतबारको मतदान टोकियोसहित देशभर ताजा हिमपातका बीच सुरु भएको हो । पछिल्ला हप्ताहरूमा उत्तरी जापानमा परेको भारी हिमपातले सडक अवरुद्ध हुनुका साथै जनजीवन प्रभावित भएको छ, जसका कारण केही क्षेत्रमा मतदान र मतगणनामा ढिलाइ हुन सक्ने अधिकारीहरूले बताएका छन् । –रासस
आर्थिकन्यूज