काठमाडौं । माई मार्टले उपभोक्तालाई लक्षित गर्दै सिधै अनलाइन किनमेल सेवा सुरु गरेको छ। ‘माई मार्ट डेलिभर्ड इन मिनेट्स’ नामक मोबाइल एपमार्फत उपभोक्ताले दैनिक उपभोग्य सामग्री अर्डर गरेको केही मिनेटमै प्राप्त गर्न सक्नेछन्।
यसअघि व्यवसाय–देखि–व्यवसाय (बीटुबी) मोडेलमार्फत सेवा दिँदै आएको माई मार्टले डिजिटल प्रविधि र उपभोक्ताको बदलिँदो किनमेल प्रवृत्तिलाई ध्यानमा राख्दै डाइरेक्ट टु कन्ज्युमर (डीटुसी) मोडेल सञ्चालनमा ल्याएको हो।
कम्पनीका अनुसार बजारको माग, आन्तरिक तयारी तथा आपूर्ति प्रणालीको सफल परीक्षणपछि सेवा सुरु गरिएको हो। मोबाइल एप, अर्डर व्यवस्थापन, स्टक कन्ट्रोल र डेलिभरी प्रणाली पूर्ण रूपमा तयारी अवस्थामा पुगेपछि सेवा औपचारिक रूपमा सञ्चालनमा आएको माई मार्टले जनाएको छ।
हाल यो सेवा काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा उपलब्ध छ भने आगामी दिनमा अन्य शहरहरूमा पनि विस्तार गर्ने योजना रहेको छ। माई मार्टले स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै स्वदेशी उत्पादकलाई डिजिटल बजारसँग जोड्ने लक्ष्य लिएको जनाएको छ।
नयाँ सेवामार्फत रोजगारी र स्वरोजगारी सिर्जना, स्थानीय व्यवसायको डिजिटल रूपान्तरण तथा उपभोक्तालाई छिटो, सहज र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्य रहेको कम्पनीको भनाइ छ। माई मार्टको मोबाइल एप गुगल प्ले स्टोर र एप्पल एप स्टोर दुवैमा उपलब्ध छ।
आर्थिकन्यूज