काठमाडौँ । काठमाडौँ उपत्यकाको वायु प्रदूषण शुक्रबार अस्वस्थ तहमा पुगेको छ। हावाको गुणस्तर मापन गर्ने ‘एयर क्वालिटी इन्डेक्स’ (एक्युआई) अनुसार मध्याह्नसम्म काठमाडौँको वायु प्रदूषण १७५ एक्युआई मापन गरिएको छ।
यससँगै काठमाडौँ विश्वका सबैभन्दा प्रदूषित सहरमध्ये सातौँ स्थानमा परेको छ। सोही समयमा इजिप्टको कायरो विश्वकै सबैभन्दा प्रदूषित सहर बनेको छ, जहाँ वायु प्रदूषण २७३ एक्युआई पुगेको छ।
वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीका अनुसार मौसम सुक्खा रहनु, हावा नचल्नु, उद्योग–कलकारखानाको सञ्चालन तथा तीव्र विकास–निर्माण गतिविधिका कारण उपत्यकाको वायु प्रदूषण बढेको हो। “औद्योगिक गतिविधिबाट निस्कने धुवाँ–धुलो, सीमापार प्रदूषण र छिमेकी मुलुक भारतबाट आउने प्रदूषणले पनि प्रभाव पारेको छ,” उनले भने, “पानी नपरेसम्म प्रदूषण अझ बढ्न सक्छ।”
विपद् व्यवस्थापनविद् डा. धर्मराज उप्रेतीका अनुसार ०–५० एक्युआई राम्रो, ५१–१०० सचेत रहनुपर्ने, १०१–१५० अस्वस्थ, १५१–२०० सबैका लागि अस्वस्थ, २०१–३०० धेरै अस्वस्थ र ३०० भन्दा माथि पुगेको अवस्था अत्यन्तै खतरनाक मानिन्छ।
काठमाडौँ उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ अनुसार एक्युआई ३०० भन्दा माथि पुगेको अवस्थालाई विपद् मानिने व्यवस्था छ। यस्तो अवस्थामा फोहोर बाल्न रोक लगाउने, सडक सफाइका लागि ब्रुमर तथा भ्याकुमको प्रयोग बढाउने, बालबालिका, ज्येष्ठ नागरिक र बिरामीलाई विशेष सावधानी अपनाउन सार्वजनिक सूचना जारी गर्ने प्रावधान कार्ययोजनामा उल्लेख गरिएको छ।
सरकारले राष्ट्रिय वातावरण नीति, २०७६ अन्तर्गत वायु प्रदूषण न्यूनीकरणका लागि विभिन्न राष्ट्रिय मापदण्ड लागू गर्ने, प्रमुख सहर र औद्योगिक क्षेत्रमा गुणस्तर मापन केन्द्र स्थापना गर्ने र वायु, जल तथा ध्वनि गुणस्तरको नियमित निगरानी गर्ने रणनीति अघि सारेको छ।
आर्थिकन्यूज