इटहरी। बतास एमएडब्लू कमर्शियल भेहिकल्स प्रा. लि. ले सुनसरीको रामधुनी नगरपालिका–तित्रिवनमा अत्याधुनिक आइशर 3S (सेल्स, सर्भिस एन्ड स्पेयर) फ्यासिलिटी सञ्चालनमा ल्याएको छ। माघ २१ गते उद्घाटन गरिएको यो फ्यासिलिटीसँगै कम्पनीले पूर्वी नेपालमा भोल्भो–आइशर कमर्शियल भेहिकल्सको बिक्री तथा आफ्टर–सेल्स सर्भिस नेटवर्क विस्तार गरेको छ।
उद्घाटन समारोहमा रामधुनी नगरपालिकाकी उप–प्रमुख तारा थापा, एमएडब्लू ग्रुपका अध्यक्ष विष्णु कुमार अग्रवाल, बतास एमएडब्लू कमर्शियल भेहिकल्सका प्रबन्ध निर्देशक शान्त राज बतास तथा VE कमर्शियल भेहिकल्स (VECV) का वरिष्ठ उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय व्यवसाय प्रमुख अमन अरोरालगायतको उपस्थिति रहेको थियो। उद्योग, बैंकिङ र अटोमोबाइल क्षेत्रका प्रतिनिधि, ग्राहक तथा व्यवसायिक साझेदारहरूको पनि सहभागिता थियो।
एमएडब्लू इन्टरप्राइजेजका उपाध्यक्ष हेमन्त पुराणिकले नयाँ फ्यासिलिटीले इटहरी–रामधुनी क्षेत्रको महत्वपूर्ण बजारमा कम्पनीको उपस्थितिलाई थप बलियो बनाएको बताए। “ग्राहकलाई विश्वस्तरीय उत्पादन र व्यावसायिक आफ्टर–सेल्स सर्भिस प्रदान गर्ने हाम्रो प्रतिबद्धता अझ सुदृढ भएको छ,” उनले भने।
दक्ष प्राविधिक, आधुनिक डायग्नोस्टिक उपकरण र पूर्ण रूपमा सुसज्जित स्पेयर पार्ट्स सेन्टरसहित सञ्चालनमा आएको यो फ्यासिलिटीले सवारीको छिटो सेवा र उच्च अपटाइम सुनिश्चित गर्ने कम्पनीको दाबी छ।
रामधुनी नगरपालिकाकी उप–प्रमुख थापाले यस लगानीले स्थानीय रोजगारी सिर्जना गर्नुका साथै क्षेत्रको आर्थिक तथा अटोमोबाइल विकासमा सकारात्मक योगदान पुर्याउने अपेक्षा व्यक्त गरिन्।
एमएडब्लू ग्रुपका अध्यक्ष अग्रवालले नयाँ डिलरशिपलाई भविष्यमुखी मोबिलिटीतर्फको कदमका रूपमा व्याख्या गर्दै ग्राहक–केन्द्रित सेवा र बलियो आफ्टर–सेल्स नेटवर्क विस्तारमा समूह केन्द्रित रहेको बताए।
VECV का वरिष्ठ उपाध्यक्ष अरोराले नेपालमा बलियो आफ्टर–सेल्स सपोर्ट VECV को प्राथमिकता रहेको उल्लेख गर्दै भोल्भो–आइशर संयुक्त उपक्रमअन्तर्गत आगामी नयाँ उत्पादन र प्रविधि भित्र्याउने योजना रहेको जानकारी दिए।
बतास एमएडब्लू कमर्शियल भेहिकल्सका प्रबन्ध निर्देशक बतासले भोल्भो–आइशरसँगको सहकार्यमा देशभर नेटवर्क विस्तार गर्दै ग्राहकलाई भरपर्दो सेवा नजिकैबाट उपलब्ध गराउने प्रयास जारी रहने बताए।
पूर्वी नेपालको प्रमुख ढुवानी तथा व्यावसायिक करिडोरसँग जोडिएको यो नयाँ 3S फ्यासिलिटीले एउटै छानामुनि सवारी बिक्री, सर्भिस र ओरिजिनल स्पेयर पार्ट्स उपलब्ध गराउनेछ।

आर्थिकन्यूज