काठमाडौँ। भारत र मलेसियाले सेमिकन्डक्टर क्षेत्रमा आपसी सहकार्यलाई अझ गहिरो बनाउने प्रतिबद्धता जनाएका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीको मलेसिया भ्रमणका क्रममा आइतबार भएको उच्चस्तरीय भेटवार्तामा दुवै देशले प्रविधि–आधारित साझेदारीलाई प्राथमिकतामा राख्ने सहमति गरेका हुन्।
एक दशकभन्दा बढी समयपछि पहिलोपटक मलेसिया पुगेका प्रधानमन्त्री मोदीले मलेसियाली समकक्षी अनवर इब्राहिमसँग नवीकरणीय ऊर्जा, स्वास्थ्य सेवा, कृत्रिम बौद्धिकता (एआई) र सेमिकन्डक्टरलगायत क्षेत्रमा सहकार्यसम्बन्धी समझदारीमा हस्ताक्षर गरे। भेटपछि प्रधानमन्त्री मोदीले एआई र डिजिटल प्रविधिसँगै सेमिकन्डक्टर, स्वास्थ्य र खाद्य सुरक्षालाई दीर्घकालीन रणनीतिक क्षेत्रका रूपमा अघि बढाइने बताए।
मलेसियाली प्रधानमन्त्री इब्राहिमले यो भेटवार्तालाई अत्यन्तै महत्त्वपूर्ण र रणनीतिक भन्दै यसले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरे।
मलेसिया विश्वव्यापी सेमिकन्डक्टर निर्यातमा छैटौँ स्थानमा रहेको छ। मलेसिया सरकारका अनुसार सेमिकन्डक्टर क्षेत्रले देशको कुल घरेलु उत्पादनमा करिब २५ प्रतिशत योगदान दिँदै आएको छ। भारतको विदेश मन्त्रालयले मलेसियासँग सेमिकन्डक्टर क्षेत्रमा ३०–४० वर्षको अनुभव रहेको उल्लेख गर्दै यसले भारतीय उद्योगका लागि ठूलो अवसर सिर्जना गर्ने जनाएको छ।
अनुसन्धान तथा विकासदेखि निर्माण र परीक्षण प्लान्टसम्म भारतीय कम्पनीहरू मलेसियासँग सहकार्य गर्न इच्छुक रहेको मन्त्रालयको भनाइ छ। टाटा इलेक्ट्रोनिक्सले मलेसियामा फेब्रिकेसन वा आउटसोर्स सेमिकन्डक्टर एसेम्बली तथा परीक्षण प्लान्ट खरिदका लागि वार्ता गरिरहेको समाचारसमेत सार्वजनिक भइसकेको छ।
इन्डिया ब्रान्ड इक्विटी फाउन्डेसनका अनुसार गत वर्ष भारतले मलेसियामा ७ अर्ब ३२ करोड डलर बराबरका मुख्यतया इन्जिनियरिङ र पेट्रोलियम उत्पादन निर्यात गरेको थियो भने मलेसियाबाट १२ अर्ब ५४ करोड डलर मूल्यका खनिज, वनस्पति तेल तथा विद्युतीय उपकरण भारतमा आयात भएका छन्।
मलेसियामा करिब ३० लाख भारतीय मूलका नागरिक बसोबास गर्छन्। प्रधानमन्त्री मोदीले उनीहरूलाई भारत–मलेसियाबीचको ‘जीवित पुल’को संज्ञा दिँदै प्रवासी भारतीयको भूमिकाले द्विपक्षीय सम्बन्धलाई मानवीय आधार दिएको बताए।
आर्थिकन्यूज