शीर्षकहरू

ट्वान्टी-२० विश्वकप : दुई पटकको च्याम्पियन इङ्ल्यान्डसँग प्रतिस्पर्धा गर्दै नेपाल

इङ्ल्यान्डले टस जितेर पहिले ब्याटिङ गर्दै

ट्वान्टी-२० विश्वकप : दुई पटकको च्याम्पियन इङ्ल्यान्डसँग प्रतिस्पर्धा गर्दै नेपाल

काठमाडौँ। नेपाली राष्ट्रिय क्रिकेट टिमले आज (आइतबार) आइसिसी पुरुष ट्वान्टी–२० विश्वकपमा दुई पटकको च्याम्पियन इङ्ल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ। मुम्बईको ऐतिहासिक वानखेडे स्टेडियममा समूह 'सी' अन्तर्गतको खेलमा इङ्ल्यान्डले टस जितेर पहिले ब्याटिङ गर्दैछ । 

टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा यी दुई टोली पहिलो पटक आमनेसामने हुँदैछन्। प्रतियोगिताको ‘सुपर-८’ चरणमा प्रवेशका लागि यो खेल दुवै टोलीका लागि महत्वपूर्ण छ।

इङ्ल्यान्डको मुख्य शक्ति उसको ब्याटिङ हो। जोस बटलर, टम बान्टन, ह्यारी ब्रुक र साम करनले खेलको दिशा बदल्न सक्ने क्षमता राख्छन्। बलिङतर्फ आदिल राशिद, रेहान अहमद र लियाम डसन जस्ता स्पिनर रहेका छन् भने जोफ्रा आर्चर तीव्र बलिङको जिम्मेवारीमा छन्।

नेपालले पछिल्लो समय २३ खेलमध्ये १७ मा जित हात पारेको छ। वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक सिरिज जितपछि नेपाली टोली ठूला टोलीलाई चुनौती दिन सक्षम भएको छ। बैटिङमा कुशल भुर्तेल र आसिफ शेख, बलिङमा सन्दीप लामिछाने मुख्य आधार हुन्।

वानखेडेको पिच ब्याटिङमैत्री मानिन्छ। इङ्ल्यान्डले यहाँ खेलेका चार खेलमध्ये दुईमा जित र दुईमा हार बेहोरेको छ। स्पिन बलिङले इङ्ल्यान्डका ब्याटरलाई चुनौती दिन सक्छ।

समूह ‘सी’: नेपाल, इङ्ल्यान्ड, इटाली, वेस्ट इन्डिज र स्कटल्यान्ड

नेपाली टोलीमा शेर मल्ल, आरिफ शेख, लोकेश बम र नन्दन यादवले पहिलो पटक टी–२० विश्वकपमा डेब्यू गर्दैछन्।

नेपालको टोली:

कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, लोकेश बम, गुलशन झा, करण केसी, शेर मल्ल, नन्दन यादव, सन्दीप लामिछाने

इङ्ल्यान्डको प्लेइङ–११:  ह्यारी ब्रुक (कप्तान), फिल साल्ट, जोस बटलर, ज्याकोप बेथेल, टम बान्टन, साम करन, विल ज्याक्स, लियाम डावसन, जोफ्रा आर्चर, आदिल राशिद, लुक विड

इङ्ल्यान्डका कप्तान ह्यारी ब्रुकले भने, “हाम्रो पहिलो खेल नेपालसँग छ। हामी सबै विपक्षीलाई सम्मान गर्दै जितका लागि खेल्नेछौं।” नेपालका कप्तान रोहितले भने, “पछिल्लो समय टेष्ट राष्ट्रसँग खेलेको अनुभवले आज उच्च मनोबलका साथ खेल्न मद्दत गर्नेछ।”

null