शीर्षकहरू

‘फेक रेस्क्यु’ प्रकरण : थप एक जना पक्राउ

‘फेक रेस्क्यु’ प्रकरण : थप एक जना पक्राउ

काठमाडौं । नेपालको उच्च हिमाली क्षेत्रमा पदयात्रा तथा पर्वतारोहणका क्रममा विदेशी पर्यटकलाई उद्धार गरेको झुटो विवरण तयार गरी बीमा रकम दाबी गर्दै गैरकानुनी रूपमा आर्थिक लाभ लिएको प्रकरणमा थप एक जना पक्राउ परेका छन्।

पर्वतारोहण तथा ट्रेकिङका क्रममा हुनसक्ने दुर्घटना, स्वास्थ्य समस्या तथा प्राकृतिक विपद्को अवस्थामा पर्यटक उद्धारका लागि सञ्चालन हुँदै आएका Mountain Rescue Service Pvt. Ltd., Everest Experience and Assistance Pvt. Ltd. र Nepal Charter Service Pvt. Ltd. ले सरकारी निकायहरू-संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नागरिक उड्डयन प्राधिकरण तथा विमानस्थलमा रहेका अभिलेखमा हेरफेर गरी Passenger तथा Cargo Manifest किर्ते गरेको अनुसन्धानमा खुलेको छ।

उद्धार गरिएको भनिएका विदेशी पर्यटकलाई बीमा नीतिमा उल्लेखित शर्तअनुसार काठमाडौंका विभिन्न अस्पतालमा उपचार गरिएको देखाई Admission & Discharge Report, Medical Report लगायतका नक्कली कागजात तथा बिल (Invoice) तयार गरी बीमा रकम दाबी गरिएको र त्यसबाट रेस्क्यु कम्पनी तथा अस्पतालले आर्थिक लाभ लिएको प्रहरीले जनाएको छ।

यसै प्रकरणका कारण “Make Nepal a no-go destination for tourists”, “A scam on the roof of the world” तथा “Stop providing cover to tourists travelling to Nepal” जस्ता शीर्षकमा अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूमा समाचार सम्प्रेषण भई नेपालको राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा र गरिमामा आँच पुगेको निष्कर्ष समेत अनुसन्धानमा आएको छ।

उक्त कार्यहरू मुलुकी अपराध संहिता, २०७४ को दफा ५१ (राष्ट्रहित प्रतिकूल काम गर्न नहुने) अन्तर्गतको कसूर भएको ठहर गर्दै सम्मानित काठमाडौं जिल्ला अदालतको अनुमति लिई पुष २५ गते एक जना अस्पताल सञ्चालकलाई पक्राउ गरिएको हो।