काठमाडौँ । आइसिसी टी–२० विश्वकप २०२६ अन्तर्गत स्पिनर शेर मल्लले ड्रिम डेब्यू गरेको खेलमा इंग्ल्यान्डले नेपाललाई १८५ रनको लक्ष्य दिएको छ। भारतको मुम्बईस्थित वानखेडे रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा ७ विकेट गुमाउँदै १८४ रन बनायो।
इंग्ल्यान्डका लागि जेकब बेथेल र कप्तान ह्यारी ब्रुकले अर्धशतक प्रहार गरे। बेथेलले ३५ बलमा ४ चौका र ४ छक्कासहित महत्वपूर्ण योगदान दिए। उनी १४औं ओभरमा दीपेन्द्रसिंह ऐरीको बलमा लोकेश बमबाट क्याच आउट भए। बेथेल आउट हुँदा इंग्ल्यान्ड १२८ रनमा पुगिसकेको थियो।
डेब्यू खेल खेलेका शेर मल्लले दोस्रो ओभरमा पहिलो बलमै फिल साल्टलाई सन्दीप लामिछानेबाट क्याच गराउँदै अन्तर्राष्ट्रिय क्रिकेटमा सपनाजस्तै सुरुआत गरे। उनी टी–२० विश्वकपमा पहिलो बलमै विकेट लिने नेपाली खेलाडी बने।
त्यसपछि पाँचौँ ओभरमा जोस बटलरलाई नन्दन यादवले विकेटकिपर आसिफ शेखबाट क्याच गराए। टम ब्यान्टन तीन ओभरपछि २ रनमा सन्दीप लामिछानेको एलबिडब्लूको सिकार बने। उनले रिभ्यु गरे पनि अम्पायरको निर्णय उल्टिन सकेन।

बेथेल आउट भएको एक ओभरपछि साम करनलाई पनि दीपेन्द्रसिंह ऐरीले २ रनमै पभेलियन फर्काए। कप्तान ह्यारी ब्रुकले इंग्लिस इनिङ्सलाई गति दिँदै ३२ बलमा ४ चौका र ३ छक्कासहित ५३ रन बनाए। उनी १९औं ओभरमा नन्दन यादवको बलमा शेर मल्लबाट क्याच आउट भए।
अन्तिम ओभरमा विल ज्याक्सले आक्रामक ब्याटिङ गर्दै १८ बलमा ३९ रन नटआउट बनाए। उनले अन्तिम ओभरमा तीन छक्का प्रहार गरे।
नेपालका लागि बलिङमा दीपेन्द्रसिंह ऐरी र नन्दन यादवले समान २–२ विकेट लिए। शेर मल्ल र सन्दीप लामिछानेले १–१ विकेट हात पारे। अन्तिम ओभरमा करण केसीले जोफ्रा आर्चरलाई रनआउट गरे पनि तीन छक्का ब्यहोरे।



सुरेन्द्र थापा