शीर्षकहरू

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रकरण : विशेष अदालतद्वारा रुद्रप्रसाद फुयाल साधारण तारेखमा रिहा

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रकरण : विशेष अदालतद्वारा रुद्रप्रसाद फुयाल साधारण तारेखमा रिहा

काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको अनियमितता सम्बन्धी भ्रष्टाचार मुद्दामा प्रतिवादी बनाइएका नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन प्रबन्धक रुद्रप्रसाद फुयाललाई विशेष अदालतले साधारण तारेखमा छाड्ने आदेश दिएको छ।

न्यायाधीशहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइराला सम्मिलित इजलासले फुयाललाई थुनामुक्त गरी साधारण तारेखमा राख्ने आदेश जारी गरेको हो। उनी आदेश जारी हुने दिन नै विशेष अदालतमा हाजिर भएका थिए।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको अनियमितता प्रकरणमा ५ पूर्वमन्त्री, १० पूर्वसचिवसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले सो प्रकरणमा ८ अर्ब ३६ करोड ७३ लाख ५५ हजार २ सय ९७ रुपैयाँ बिगो कायम गर्दै विशेष अदालतमा अभियोगपत्र दायर गरेको हो।

अभियोगपत्रमा पोस्टबहादुर बोगटी (दिवंगत), रामशरण महत, दीपक अमात्य, रामकुमार श्रेष्ठ र भीम आचार्य लगायतका पूर्वमन्त्रीहरूलाई समेत प्रतिवादी बनाइएको छ।

चीनको ऋण सहयोगमा निर्माण गरिएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल राष्ट्रिय गौरवको आयोजना हो। निर्माण प्रक्रिया र लागतसम्बन्धी विषयमा व्यापक विवाद उठेपछि अख्तियारले अनुसन्धान गरी मुद्दा दायर गरेको थियो।