शीर्षकहरू

कर दायरामा तीव्र विस्तार : ६ महिनामै ३.६१ लाख नयाँ करदाता थपिए

कर दायरामा तीव्र विस्तार : ६ महिनामै ३.६१ लाख नयाँ करदाता थपिए

काठमाडौं । चालू आर्थिक वर्ष ०८२/८३ को पहिलो छ महिनामा कर दायरा उल्लेख्य रूपमा विस्तार भएको छ। आन्तरिक राजस्व विभागका अनुसार यस अवधिमा ३ लाख ६१ हजार ३ जना नयाँ सक्रिय करदाता थपिँदा कुल संख्या ७३ लाख ६० हजार ३ सय ५३ पुगेको छ।

गत आर्थिक वर्ष ०८१/८२ को असार मसान्तसम्म सक्रिय करदाता संख्या ६९ लाख ९९ हजार ३ सय ५० थियो। पछिल्लो छ महिनामा करदाताको संख्या तीव्र रूपमा बढ्नु आर्थिक गतिविधि विस्तार र कर प्रशासनको प्रभावकारिता बढेको संकेत भएको विभागको भनाइ छ।

व्यावसायिक प्यानतर्फ करदाताको संख्या २० लाख ६० हजार ७ सय ५८ बाट बढेर २१ लाख १६ हजार पुगेको छ। छ महिनामै ५५ हजार २ सय ४२ नयाँ व्यावसायिक प्यान दर्ता भएका छन्।

सबैभन्दा ठूलो वृद्धि व्यक्तिगत प्यानमा देखिएको छ। व्यक्तिगत प्यान करदाता संख्या ४९ लाख २ हजार ७ सय २२ बाट बढेर ५२ लाख ७ हजार ६ सय १२ पुगेको छ। यस अवधिमा ३ लाख ४ हजार ८ सय ९० नयाँ व्यक्तिगत प्यान दर्ता भएका छन्।

विदेशी रोजगारीमा रहेका कामदारका लागि जारी गरिने डब्लु–प्यान संख्या पनि बढेको छ। अघिल्लो आर्थिक वर्षको असारसम्म ३५ हजार ८ सय ७० रहेको डब्लु–प्यान छ महिनामा ८ सय ७१ ले बढेर ३६ हजार ७ सय ४१ पुगेको छ।

यस्तै, मूल्य अभिवृद्धि कर (भ्याट) दर्ता करदाता संख्या ३ लाख ५१ हजार ७ सय ३५ बाट बढेर ३ लाख ६४ हजार ९ सय ९२ पुगेको छ। यस अवधिमा १३ हजार २ सय ५७ नयाँ भ्याट दर्ता थपिएका छन्। अन्तःशुल्कतर्फ करदाता संख्या १ लाख २४ हजार ९ सय ९७ बाट बढेर १ लाख २९ हजार ९ सय ४९ पुगेको छ, जसमा ४ हजार ९ सय ५२ नयाँ दर्ता समावेश छन्।

अर्थ मन्त्रालयका अधिकारीहरूका अनुसार डिजिटल दर्ता प्रणालीको पहुँच विस्तार, आर्थिक गतिविधिमा सुधार र कर प्रणालीमा नागरिकलाई ल्याउने सरकारी प्रयासले कर आधार विस्तारमा योगदान दिएको हो।