काठमाडौं । आइसिसी टी–२० विश्वकपअन्तर्गत आइतबार भएको रोमाञ्चक खेलमा नेपाल इंग्ल्यान्डसँग झिनो रन अन्तरले पराजित भएको छ।
विश्वकपको पहिलो खेलमै बलियो प्रतिद्वन्द्वी इंग्ल्यान्डसँग नेपालले कडा प्रतिस्पर्धा गरे पनि अन्ततः ४ रनले पराजित भएको छ ।
१८५ रनको चुनौती पछ्याएको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १८० रन जोड्यो । साहसिक प्रदर्शन गरे पनि अन्तिम ओभरसम्म पुगेको खेल नेपालले आफ्नो पक्षमा पार्न सकेन ।
नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ४४ रनको योगदान दिए । कप्तान रोहित पौडेलले ३९ तथा कुशल भुर्तेलले २९ रन बनाए । अन्तिमतिर लोकेश बमले अविजित ३९ रन जोड्दै खेललाई रोमाञ्चक बनाए ।
इंग्ल्यान्डका लागि बलिङमा लियाम डासनले दुई विकेट लिए भने विल ज्याक्स, साम करन, जोफ्रा आर्चर र लुक वुडले समान एक–एक विकेट हात पारे ।
यसअघि मुम्बईस्थित वानखेडे मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा ७ विकेटको क्षतिमा १८४ रन बनाएको थियो ।
इंग्ल्यान्डका कप्तान ह्यारी ब्रुक र जेकब बेथेलले अर्धशतकीय पारी खेले । बेथेलले ३५ बलमा ४ चौका र ४ छक्कासहित ५५ रन बनाए भने ब्रुकले ३२ बलमा ५३ रनको योगदान दिए । विल ज्याक्सले १८ बलमा चार छक्का प्रहार गर्दै अविजित ३९ रन जोडे । जोस बटलरले २६ रन बनाए ।
नेपालका लागि बलिङमा दीपेन्द्र सिंह ऐरी र नन्दन यादवले दुई–दुई विकेट लिए । शेर मल्ल र सन्दीप लामिछानेले एक–एक विकेट हात पारे ।
विश्वकपमा नेपाल समूह ‘सी’ मा रहेको छ । यस समूहमा नेपालसँगै इंग्ल्यान्ड, वेस्ट इन्डिज, इटाली र स्कटल्यान्ड छन् ।
आर्थिकन्यूज