शीर्षकहरू

कोरिया रोजगारीमा दबाब : ५ हजार कोटाका लागि १.३८ लाख आवेदन

कोरिया रोजगारीमा दबाब : ५ हजार कोटाका लागि १.३८ लाख आवेदन

काठमाडौं । दक्षिण कोरियामा रोजगारीका अवसर विस्तारसँगै नेपाली श्रम बजारमा तीव्र दबाब देखिएको छ। रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत सन् २०२५ का लागि उत्पादनमूलक तथा कृषि–पशुपालन क्षेत्रमा ५ हजार जनाको कोटा तोकिए पनि भाषा परीक्षाका लागि १ लाख ३८ हजारभन्दा बढी आवेदन परेका छन्।

उत्पादनमूलक क्षेत्रको परीक्षा सकिएपछि कृषि तथा पशुपालन क्षेत्रको भाषा परीक्षा फागुन ३ देखि सञ्चालन हुने भएको छ। परीक्षा चैत १८ सम्म चल्ने भए पनि निर्वाचनका कारण फागुन १७ देखि २६ सम्म स्थगित हुने गरी तालिका बनाइएको छ। कुल परीक्षा अवधि ३८ दिन मात्र रहनेछ।

कोरियाले पछिल्लो समय नेपालबाट कामदारको माग बढाउँदै लगेपछि रेमिटेन्स आप्रवाहमा सकारात्मक प्रभाव देखिएको छ। सन् २०२४ मा १४ हजार ४ सय ९२ नेपाली युवा कोरिया प्रवेश गरेका थिए। सन् २०२५ मा हालसम्म ११ हजारभन्दा बढी नेपाली कोरिया गइसकेका छन्, जुन अघिल्ला वर्षको औसतभन्दा करिब ६ हजार बढी हो।

ईपीएस अन्तर्गत उत्पादनमूलक क्षेत्रमा ३ हजार ५ सय र कृषि तथा पशुपालन क्षेत्रमा १ हजार ८ सय जना छनोट गर्ने गरी परीक्षा सञ्चालन गरिएको छ। रोजगारदाताको मागअनुसार अन्तिम छनोट संख्या थपघट हुन सक्ने जनाइएको छ।

एक व्यक्तिले एक क्षेत्रमा मात्र आवेदन दिन पाउने व्यवस्था लागू गरिएको छ। उत्पादनमूलक क्षेत्रमा ‘एसेम्बल’, ‘मेजरमेन्ट’ र ‘जडान’ उपक्षेत्रमध्ये एक छनोट अनिवार्य गरिएको छ। भाषा परीक्षा उत्तीर्ण भएपछि मात्रै सीप परीक्षणमा सफल भएका परीक्षार्थीले रोजगार फारम भर्न पाउनेछन्।

नेपाल हाल १७ ईपीएस सदस्य राष्ट्रमध्ये कोरियाबाट सबैभन्दा बढी कामदार माग हुने देश बनेको छ। तर, भाषा परीक्षा र प्रशासनिक प्रक्रियामा ढिलाइ भए नेपालले पाउँदै आएको प्राथमिकता अन्य देशमा सर्न सक्ने जोखिम पनि देखिएको छ।