काठमाडौं । नेपाल र कतारबीच द्विपक्षीय व्यापार तथा लगानी अभिवृद्धिबारे छलफल गर्न कतार चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (QCCI) को एक प्रतिनिधिमण्डल काठमाडौँ आइपुगेको छ।
नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) र QCCI बीच गठन गरिएको संयुक्त व्यवसाय परिषद् (जेबीसी) सम्बन्धी छलफलका लागि प्रतिनिधिमण्डल नेपाल आएको हो।
संयुक्त व्यवसाय परिषद् स्थापना सम्बन्धी सम्झौतामा सन् २०२४ अप्रिलमा कतार राज्यका महामहिम अमिर शेख तमीम बिन हमद अल थानीको नेपाल भ्रमणका क्रममा हस्ताक्षर भएको थियो। यस सम्झौताले नेपाल–कतार आर्थिक सहकार्यलाई थप सुदृढ बनाएको छ।
महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको निमन्त्रणामा काठमाडौँ आएको प्रतिनिधिमण्डलको नेतृत्व कतार चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीका बोर्ड सदस्य मोहद अहमद एम. ए. अलोबैद्लीले गरेका छन्। संयुक्त व्यवसाय परिषद्को बैठक माघ २६ र २७ गते (फेब्रुअरी ९ र १०) काठमाडौँमा बस्नेछ।
परिषद् नेपाल र कतारका निजी क्षेत्रबीच संवाद, व्यवसायिक सहकार्य तथा प्रत्यक्ष संलग्नता प्रवर्द्धन गर्ने संरचित मञ्चका रूपमा स्थापना गरिएको हो।
काठमाडौँ बसाइका क्रममा प्रतिनिधिमण्डलले अर्थमन्त्री रमेश्वर प्रसाद खनाल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिल कुमार सिन्हा तथा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ।
महासंघका अध्यक्ष ढकालले संयुक्त व्यवसाय परिषद्लाई अन्तिम रूप दिई सक्रिय बनाउनु द्विपक्षीय व्यापार विस्तार, लगानी प्रवाह प्रोत्साहन तथा दुवै देशका व्यवसायीहरूबीच साझेदारी सुदृढ गर्न महत्वपूर्ण हुने बताएका छन्। उनका अनुसार छलफलहरू परिषद्लाई व्यवहारिक र परिणाममुखी बनाउने तथा सहकार्यका ठोस क्षेत्र पहिचानमा केन्द्रित हुनेछन्। नेपाल र कतारबीच लामो समयदेखि सौहार्दपूर्ण सम्बन्ध रहँदै आएको छ।
पछिल्ला उच्चस्तरीय द्विपक्षीय भेटघाटहरूले निजी क्षेत्रको सहभागिता बढाउन सकारात्मक वातावरण सिर्जना गरेको महासंघको भनाइ छ। नेपालमा जलविद्युत् तथा नवीकरणीय ऊर्जा, पर्यटन, कृषि–प्रशोधन, सूचना प्रविधि, उत्पादन, पूर्वाधार, स्वास्थ्य र शिक्षा लगायतका क्षेत्रमा लगानीका आकर्षक अवसरहरू उपलब्ध छन्। महासंघले यस बैठकका उपलब्धिहरूले आगामी दिनमा नेपाल–कतार आर्थिक सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेको छ।
आर्थिकन्यूज