शीर्षकहरू

रास्वपा उम्मेदवार हरि पन्तको घरदैलो अभियान तीव्र

रास्वपा उम्मेदवार हरि पन्तको घरदैलो अभियान तीव्र

 वीरगञ्ज। आगामी प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पर्सा निर्वाचन क्षेत्र नम्बर–१ मा चुनावी माहोल तातिँदै गएको छ। यसैक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार हरि पन्तले आफ्नो निर्वाचन क्षेत्रमा घरदैलो अभियानलाई तीव्र बनाएका छन्।

अभियानअन्तर्गत आइतबार पन्तले पिपरा, लालपर्सा, भेडियाही र सोलखपुर क्षेत्रका मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूका समस्या, गुनासा र अपेक्षाबारे जानकारी लिएका छन्। स्थानीयवासीले ठाउँ–ठाउँमा टीका, माला र खादा लगाएर उम्मेदवार पन्तको भव्य स्वागत गरेका थिए।

भेटघाटका क्रममा मतदाताहरूले देशको वर्तमान राजनीतिक अवस्थाप्रति असन्तुष्टि व्यक्त गर्दै अबको विकल्प र आशाको केन्द्र राष्ट्रिय स्वतन्त्र पार्टी नै भएको प्रतिक्रिया दिएका छन्। स्थानीयवासीले यसपटक पर्सा–१ बाट घण्टी चिह्नलाई विजयी गराएर परिवर्तनको सुरुवात गर्ने प्रतिबद्धता समेत जनाएका छन्।

घरदैलो अभियानका क्रममा स्थानीयहरूले विकास, शिक्षा, स्वास्थ्य सेवा र रोजगारीसँग सम्बन्धित विविध समस्याहरू पन्तसमक्ष राखेका थिए। उम्मेदवार पन्तले नागरिकका गुनासाहरू ध्यानपूर्वक सुन्दै आफू र आफ्नो पार्टी जनभावनाअनुसार काम गर्न प्रतिबद्ध रहेको विश्वास दिलाए। पुराना दलहरूको विकल्पका रूपमा रास्वपा नयाँ एजेन्डा, नीति र भिजनसहित अघि बढिरहेको उनले बताए।

कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कार्यकर्ताहरू, स्थानीय युवा, महिला तथा सर्वसाधारणको उल्लेख्य र स्वतःस्फूर्त सहभागिता रहेको थियो। पर्सा–१ मा रास्वपाको बढ्दो सक्रियताले निर्वाचन प्रतिस्पर्धालाई थप रोचक बनाएको राजनीतिक विश्लेषकहरूको भनाइ छ।