शीर्षकहरू

विद्युत् उत्पादन बढे पनि हिउँदमा आयातको निर्भरता कायम

विद्युत् उत्पादन बढे पनि हिउँदमा आयातको निर्भरता कायम

काठमाडौं । पछिल्ला ६ महिनामा नेपालले झन्डै पाँच सय मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा थप गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार पुस मसान्तसम्म राष्ट्रिय ग्रिडमा ४९५ मेगावाट विद्युत् जोडिँदा कुल जडित क्षमता ४ हजार ८६ मेगावाट पुगेको छ।

गत असार मसान्तसम्म देशको जडित क्षमता ३ हजार ५९१ मेगावाट थियो। त्यसपछि असोज मसान्तमा बढेर ४ हजार ४६ मेगावाट पुगेको क्षमता पुससम्म थप विस्तार भएको मन्त्रालयको विवरणमा उल्लेख छ। परीक्षणमा रहेका आयोजना र वैकल्पिक ऊर्जाबाट उत्पादन भएको विद्युत् भने यसमा समावेश गरिएको छैन।

उत्पादन क्षमता उल्लेख्य बढे पनि हिउँदयाम सुरु भएसँगै नदीको बहाव घट्दा नेपालले अहिले भारतबाट विद्युत् आयात गरिरहेको छ। मन्त्रालयका अनुसार हालसम्म सौर्य ऊर्जाबाट ६२.७ मेगावाट र लघु तथा साना जलविद्युत् आयोजनाबाट ४१.१६ मेगावाट विद्युत् उत्पादन भइरहेको छ।

उत्पादनसँगै प्रसारण पूर्वाधार पनि विस्तार हुँदै गएको मन्त्रालयले जनाएको छ। हाल ६६ केभीभन्दा माथिका प्रसारण लाइनको कुल लम्बाइ ७ हजार २४७ सर्किट किलोमिटर पुगेको छ। यसअन्तर्गत १४ हजार १२३ एमभिए क्षमताका सबस्टेसन निर्माण भइसकेका छन्। ३३ केभी प्रसारण लाइनको लम्बाइ ८ हजार २१९ सर्किट किलोमिटर पुगेको छ भने तीन हजार एमभिए क्षमताका सबस्टेसन सञ्चालनमा छन्।

प्रतिवेदनअनुसार हाल विद्युत् चुहावट १२.७३ प्रतिशतमा झरेको छ। प्रतिव्यक्ति विद्युत् खपत भने ४५० युनिट पुगेको छ। समीक्षा अवधिमा नेपालले २ हजार ७७४ गिगावाट घण्टा विद्युत् निर्यात गर्दा १ सय २३ गिगावाट घण्टा विद्युत् आयात गरेको तथ्यांक मन्त्रालयले सार्वजनिक गरेको छ।

उत्पादन र पूर्वाधार दुवै क्षेत्रमा प्रगति देखिए पनि मौसमी असन्तुलनका कारण हिउँदमा आयात र वर्षायाममा निर्यातको चक्र भने कायमै रहेको ऊर्जा क्षेत्रका जानकारहरू बताउँछन्।