काठमाडौं। माउन्टेन इनर्जी नेपाल लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सो अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी १४.५८ प्रतिशतले वृद्धि हुँदै ९१ करोड ४४ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा आम्दानी ७९ करोड ८१ लाख रुपैयाँ रहेको थियो।
कम्पनीले ४२ मेगावाटको मिस्ट्री खोला र ५ मेगावाटको तादीखोला आयोजनाबाट नियमित विद्युत उत्पादन गर्दै आएको छ। यस अवधिमा कम्पनीको खुद नाफा पनि ५.७४ प्रतिशतले बढेर ५४ करोड १४ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा खुद नाफा ५१ करोड २० लाख रुपैयाँ थियो।
कम्पनीले बीमा दाबीको रूपमा ९ लाख रुपैयाँ प्राप्त गरेको छ। सञ्चालन मुनाफा ६४ करोड ९६ लाख रुपैयाँ कायम भएको छ भने ब्याज खर्च घटेर ११ करोड १५ लाख रुपैयाँमा आएको छ। कर अगाडीको नाफा भने ५५ करोड ५८ लाख रुपैयाँ रहेको छ।
चुक्ता पुँजी यस अवधिमा ३ अर्ब १२ करोड रुपैयाँ रहेको छ। कम्पनीको रिजर्भमा १ अर्ब ३३ करोड रुपैयाँ जम्मा छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा चुक्ता पुँजी २ अर्ब ६० करोड रुपैयाँ थियो। कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा २० प्रतिशत बोनस शेयर वितरण गरेको थियो, जसले पुँजीमा वृद्धि ल्याएको हो।
यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी (ईपीएस) १७.३४ रुपैयाँ कायम भएको छ। २० प्रतिशतले पुँजी बढ्दा पनि ईपीएस कायम गर्न सफल भएको कुरा कम्पनीको वित्तीय मजबुती संकेत गर्दछ। कम्पनीको प्रति शेयर नेटवर्थ १४२ रुपैयाँ ६८ पैसा रहेको छ।
आर्थिकन्यूज