शीर्षकहरू

नबिलको ल्यायो नयाँ "महिला उद्यमशिलता कर्जा"

१० वर्ष अवधिको लागि २० लाख रुपैयाँसम्म प्राप्त गर्न सकिने

नबिलको ल्यायो  नयाँ

काठमाडौं । नबिल बैंकले  कम्तीमा ५० प्रतिशत महिलाको स्वामित्व रहेका र सम्बन्धित निकायमा दर्ता भएका व्यावसायिक फर्महरूलाई लक्षित गरी नयाँ कर्जा सुविधा ल्याएको  छ। "महिला उद्यमशिलता कर्जा" नामक यस सुविधा अन्तर्गत १८ देखि ६८ वर्ष उमेर समूहका प्रोप्राइटर वा साझेदारहरूले अधिकतम २० लाख रुपैयाँसम्मको ऋण प्राप्त गर्न सक्नेछन्।

कर्जाको सीमा धितोको प्रकृति अनुसार निर्धारण गरिएको छ, जसमा मोटर बाटो पुगेको जग्गाको हकमा ७० प्रतिशत, गोरेटो बाटो भएकोमा ६० प्रतिशत र जग्गा धितो नभएको खण्डमा खुद चल तथा अचल सम्पत्तिको ५० प्रतिशतसम्म प्रवाह गरिनेछ।

१० वर्षसम्मको अवधि रहने यस कर्जाको पुन: भुक्तानी इएमआई आधारमा प्रत्येक महिनाको २० गते गर्नुपर्नेछ। कुल किस्ता रकम परिवारको बचत आय  को ८० प्रतिशतभन्दा बढी हुन नहुने व्यवस्था गरिएको छ।

कर्जाको ब्याजदर राष्ट्र बैंकको निर्देशिका बमोजिम हुनेछ। यसमा ०.७५ प्रतिशत सेवा शुल्क लाग्नेछ भने वार्षिक ०.२० प्रतिशतका दरले कर्जा सुरक्षण शुल्क भुक्तानी गर्नुपर्नेछ। बैंकले आवेदन दिएको ४ दिनभित्र स्वीकृति र थप ४ दिनभित्र कर्जा प्रवाह गरी जम्मा ८ दिनभित्रै सम्पूर्ण प्रक्रिया सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ।