शीर्षकहरू

डिप्रोक्स लघुवित्तको छात्रवृत्ति कार्यक्रमबाट १५८ विद्यार्थी लाभान्वित

डिप्रोक्स लघुवित्तको छात्रवृत्ति कार्यक्रमबाट १५८ विद्यार्थी लाभान्वित

काठमाडौँ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले देशभरका आफ्ना १५८ वटा शाखा कार्यालयको कार्यक्षेत्रभित्र रहेका सामुदायिक विद्यालयमा अध्ययनरत गरिब तथा विपन्न परिवारका जेहेन्दार र मिहिनेती १५८ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ।

संस्थाले विशेषगरी दलित तथा जनजाति समुदायका छात्रालाई प्राथमिकतामा राख्दै शिक्षा क्षेत्रमा समान पहुँच सुनिश्चित गर्ने, महिला सशक्तीकरण प्रवर्द्धन गर्ने तथा समावेशी शिक्षालाई सहयोग पुर्‍याउने उद्देश्यसहित यो कार्यक्रम सञ्चालन गरेको हो। विद्यार्थीको आवश्यकता र सहजतालाई ध्यानमा राखी चेक वितरण प्रणालीमार्फत छात्रवृत्ति उपलब्ध गराइएको संस्थाले जनाएको छ।

छात्रवृत्ति प्राप्त विद्यार्थीहरूमा अध्ययनप्रति थप उत्साह र आत्मविश्वास बढेको देखिएको छ भने अभिभावकहरू समेत संस्थाको यस पहलप्रति सन्तुष्ट देखिएका छन्। शिक्षा क्षेत्रमा गरिएको यस्ता योगदानले समुदायस्तरमा सकारात्मक प्रभाव पारेको र डिप्रोक्स लघुवित्तप्रति विश्वास तथा सद्भाव थप मजबुत बनेको संस्थाको विश्वास छ।

डिप्रोक्सले भविष्यमा पनि शिक्षा, सामाजिक सशक्तीकरण तथा दिगो विकासका क्षेत्रमा यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।

यसै क्रममा सल्यानको फारुला शाखा कार्यालय अन्तर्गत पर्ने जनज्योति माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा १० की गरिब तथा जेहेन्दार छात्रा हिरा बुढाथोकीलाई छात्रवृत्ति प्रदान गरिएको छ।