शीर्षकहरू

बिजुली, इन्टरनेट र मोबाइलको पहुँच व्यापक, तर खाना पकाउने स्वच्छ ऊर्जा, पानी र स्वास्थ्य बीमा अझै चुनौतीपूर्ण

बिजुली, इन्टरनेट र मोबाइलको पहुँच व्यापक, तर खाना पकाउने स्वच्छ ऊर्जा, पानी र स्वास्थ्य बीमा अझै चुनौतीपूर्ण

काठमाडौँ । नेपालमा करिब सबै घरधुरीसम्म विद्युत् पुगेको भए पनि खाना पकाउने ऊर्जामा स्वच्छ इन्धनको प्रयोग अझै चुनौतीकै रूपमा रहेको देखिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सोमबार सार्वजनिक गरेको नेपाल बहुसूचक सर्वेक्षण २०८१/८२ अनुसार देशका ९६.७ प्रतिशत घरधुरीमा विद्युत् पहुँच पुगेको छ।

प्रदेशगत रूपमा गण्डकी प्रदेशमा ९९.५ प्रतिशत घरधुरीमा विद्युत् पुगेको छ भने कर्णाली प्रदेशमा अझै ८०.८ प्रतिशत घरधुरीमा मात्र विद्युत् उपलब्ध छ । यसले विद्युतीकरणमा प्रगति भए पनि क्षेत्रीय असमानता कायमै रहेको देखाउँछ।

सर्वेक्षणले अधिकांश घरपरिवारले राष्ट्रिय प्रसारण प्रणाली (ग्रिड) बाट विद्युत् प्रयोग गरिरहेको देखाएको छ । पहाडी तथा हिमाली क्षेत्रमा सौर्य ऊर्जा प्रणालीले वैकल्पिक तथा पूरक स्रोतका रूपमा भूमिका खेलेको छ। ग्रामीण विद्युतीकरणमा पछिल्ला वर्षमा उल्लेखनीय सुधार आए पनि सबै क्षेत्रमा समान पहुँच सुनिश्चित हुन नसकेको प्रतिवेदनको निष्कर्ष छ ।

उज्यालोका लागि विद्युत् प्रयोग गर्ने घरधुरीको अनुपात उच्च भए पनि खाना पकाउने ऊर्जामा भने परम्परागत इन्धनकै प्रयोग व्यापक रहेको देखिएको छ । ग्रामीण क्षेत्रमा दाउरा र सहरी क्षेत्रमा एलपी ग्यास मुख्य इन्धनका रूपमा प्रयोग भइरहेका छन् ।

सहरी क्षेत्रमा स्वच्छ ऊर्जा प्रयोग गर्ने घरधुरीको अनुपात तुलनात्मक रूपमा बढी भए पनि ग्रामीण क्षेत्रमा यसको पहुँच अझै कमजोर रहेको सर्वेक्षणले देखाएको छ। स्वच्छ ऊर्जा रूपान्तरणलाई गति दिन प्रभावकारी नीति, सहुलियतपूर्ण प्रविधि र ग्रामीण लक्षित कार्यक्रम आवश्यक रहेको औँल्याइएको छ।

सर्वेक्षणले उज्यालोको पहुँच करिब शतप्रतिशत पुर्‍याउने दिशामा नेपाल सफल भए पनि भान्सामा स्वच्छ ऊर्जा विस्तार, वैकल्पिक ऊर्जाको पहुँच र प्रदेशगत असमानता घटाउनु ऊर्जा क्षेत्रका मुख्य चुनौतीका रूपमा रहेको स्पष्ट पारेको छ ।

टेलिफोन सेवातर्फ हेर्दा ९५ दशमलव पाँच प्रतिशत घरपरिवारमा स्थिर वा मोबाइल टेलिफोनको पहुँच रहेको छ । यसमध्ये बागमती प्रदेशमा सबैभन्दा बढी ९७ दशमलव एक प्रतिशत र सुदूरपश्चिम प्रदेशमा सबैभन्दा कम ९२ दशमलव छ प्रतिशत घरपरिवारमा टेलिफोन सुविधा पुगेको देखिन्छ । प्रत्येक पाँचमध्ये चार घरपरिवार अर्थात् ८२ प्रतिशत घरपरिवारले इन्टरनेट सुविधा भएको उपकरण प्रयोग गर्ने गरेको पाइयो ।

अध्ययन अनुसार १५ देखि ४९ वर्ष उमेर समूहका महिलामध्यदेखी दशमलव छ प्रतिशतसँग आफ्नै मोबाइल फोन रहेको छ, भने ७२ दशमलव सात प्रतिशतले पछिल्ला तीन महिनामा मोबाइल प्रयोग गरेका छन् । सोही उमेर समूहका पुरुषमध्ये ९० दशमलव चार प्रतिशतसँग मोबाइल फोन रहेको र ७८ दशमलव ७ प्रतिशतले हालै मोबाइल प्रयोग गरेको देखिएको छ ।

नेपालको ९८ दशमलव दुई प्रतिशत जनसङ्ख्याले सुधारिएको खानेपानी स्रोत प्रयोग गरेको भए पनि ६० दशमलव ४ प्रतिशत घरपरिवारको पिउने पानीमा जीवाणु फेला परेको छ । त्यस्तै ९२ दशमलव चार प्रतिशतले सुधारिएको चर्पी प्रयोग गरेका छन् भने ८६ दशमलव चार प्रतिशत घरपरिवारमा हात धुने सुविधा उपलब्ध छ ।

स्वास्थ्य बिमातर्फ हेर्दा १५ देखि ४९ वर्ष उमेर समूहका १७ दशमलव आठ प्रतिशत महिला र १९ दशमलव छ प्रतिशत पुरुष बिमामा आबद्ध छन् ।यो बहुसूचक सर्वेक्षणले सङ्घीय तथा प्रदेश तहका योजना तर्जुमा, नीति निर्माण, दिगो विकास लक्ष्यको अनुगमन तथा बहुआयामिक गरिबी मापनका लागि महत्वपूर्ण तथ्याङ्कीय आधार प्रदान गर्ने विश्वास लिइएको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार देशभरका ५४० गणना क्षेत्रका १२ हजार ९६० परिवारबाट तथ्याङ्क सङ्कलन गरी प्रतिवेदन तयार पारिएको हो । सर्वेक्षण संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ) को प्राविधिक तथा आर्थिक सहयोगमा सञ्चालन गरिएको हो ।