काठमाडौँ । राष्ट्रिय सभाले सरकारबाट आएको सामाजिक सञ्जाल विधेयक २०८१ फिर्ता गर्ने निर्णय सर्वसम्मतिले पारित गरेको छ। सभाका अध्यक्ष नारायण दाहालले आजको बैठकमा विधेयक फिर्ता भएको घोषणा गरेका हुन्।
सभाको विधान व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले ‘सामाजिक सञ्जाल विधेयक, २०८१ सम्बन्धी प्रतिवेदन’ पेश गरेकी थिइन्। समितिले ३५ जना सांसदको सहभागितामा १५५ वटा संशोधन प्रस्ताव दर्ता गरेको थियो।
समितिका सभापति दाहालले विधेयकमाथि सूचना तथा सञ्चार प्रविधि मन्त्रालय, मन्त्रालयका सचिव र सरोकारवालासँग विभिन्न चरणमा अनौपचारिक छलफल भएको जानकारी गराइन्।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गत माघ २० गते विधेयक फिर्ता माग्ने निर्णय गरेपछि माघ २१ गते पत्रमार्फत् सरकारको तर्फबाट विधेयक फिर्ता माग्ने निर्देशन जारी गरिएको थियो।
यस निर्णयसँगै सामाजिक सञ्जाल सम्बन्धी विवादास्पद विधेयकलाई अस्थायी रूपमा फिर्ता गर्दै आगामी छलफल र परिमार्जनका लागि मार्ग प्रशस्त भएको छ।
आर्थिकन्यूज