काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ग्यासको अभावको मूख्य कारण आपूर्तिमा समस्या रहेको ठहर गरेको छ । बजारमा ग्यास अभाग देखिएपछि विभागले हरेक दिन विभिन्न डिलरहरुमा गएर अनुगमन गर्दै आएको छ। जसबाट सप्लाईमा नै समस्या रहेको ठहर गरेको छ ।
आज सोमबार पनि विभागले काठमाडौं उपत्यकाका विभिन्न २ दर्जन वटा ग्यास डिलरहरुमा छापा हानेको थियो । सोही क्रममा ग्यासको माग भन्दा आपूर्ति कम भएको निष्कर्ष विभागले निकालेको हो । अनुगमनमा खटिएका एक अधिकारीका अनुसार सोमबार विभागले उपत्यकाका ठूला डिलर, उद्योग र ग्यास सप्लायर्समा छापा हानेको थियो ।
विभागले ग्यासको अभाव भएको भन्दै दैनिक अनुगमन गरेको छ । सोमबार ४ वटा टोलीले अनुगमन गरेको थियो । विभागले यस दिन नेपाल ग्यास उद्योग र एभरेष्ट ग्यास उद्योग तथा उक्त ग्यास विक्री वितरण गर्ने डिलर र सप्सायर्समा छापा हानेको हो ।
अनुगमनमा खटिएका एक अधिकारीका अनुसार ग्यासको माग बराबर आपूर्ति भएको छैन । उनले भने, 'जति ग्यास आएको छ, त्यो भन्दा धेरै माग छ । अर्थात् आपूर्ति भन्दा माग धेरै भएकाले अभाव भएको हाम्रो निष्कर्श हो ।’ उनका अनुसार मागको ६६ प्रतिशत मात्रै आपूर्ति भएको र ३३ प्रतिशत आपूर्ति कम रहेको छ ।
ति अधिकारीका अनुसार विभागले अब सप्लाई चेन सुधार गर्न आयल निगमलाई निर्देशन दिनेछ ।
के भन्छ आयल निगम ?
यता नेपाल आयल निगमले भने ग्यासको अभाव नरहेको जिकीर गरेको छ । केही साता अघि नेपाल ग्यास उद्योगमा आन्तरिक विवाद चल्यो, जसले गर्दा नेपाल ग्यासले माग भन्दा कम आपूर्ति गर्यो ।
नेपाल ग्यासले काठमाडौं उपत्यकामा मासिक २ हजार ३ सय मेट्रिक टन ग्यास विक्री गर्दै आएको थियो । तर, आन्तरिक समस्याले गर्दा केही साता अघि नेपाल ग्यासले मासिक २ हजार मेट्रिक टन मात्रै ग्यास आयात गर्यो । जसले गर्दा नेपाल ग्यासले आफ्ना ग्राहकलाई माग अनुसार ग्यास दिन सकेन ।
यसो हुँदा मानिसहरू नेपाल ग्यासको अभाव रहेको भन्दै सामाजिक सञ्जालमा पोस्ट गर्न थाले भने केहीले नेपाल ग्यासको डिलर अगाडि सिलिन्डर लिएर लाइनमा बस्न थाले । सञ्चार माध्यमहरुमा पनि ग्यास अभाव रहेको भन्दै समाचार आउन थाल्यो र सामाजिक सञ्चालमा पनि ग्यास अभाव भएको हल्ला चल्न थाल्यो ।
यसरी हल्ला चलेपछि अन्य ग्यास उद्योगका ग्राहकले पनि आफुसँग भएको सबै खाली सिलिन्डर भरेर स्टक राख्न थालेको नेपाल आयल निगमले जनाएको छ । यसो हुँदा दैनिक माग भन्दा ५ गुणा बढी माग बढ्यो । जसले गर्दा अभाव सृजना भयो ।
हाल नेपाललाई महिनामा ४७ हजार मेट्रिक टन ग्यास आवश्यक पर्दछ । सोही अनुसार नै ग्यास भारतबाट आयात भइरहेको निगमको भनाई छ । जाडो र चुनावलाई लक्षित गरेर निगमले ग्यास आयातको कोटा पनि बढाएको छ ।
आर्थिकन्यूज