शीर्षकहरू

राष्ट्रिय आर्थिक गणना-२०८२ मा उद्योग परिसङ्घको सहकार्य, वैशाखदेखि तथ्याङ्क सङ्कलन

राष्ट्रिय आर्थिक गणना-२०८२ मा उद्योग परिसङ्घको सहकार्य, वैशाखदेखि तथ्याङ्क सङ्कलन

काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले गर्न लागेको ‘राष्ट्रिय आर्थिक गणना–२०८२’ लाई सफल र परिणाममुखी बनाउन नेपाल उद्योग परिसङ्घ (सीएनआई) सहकार्यमा जुट्ने भएको छ।

आर्थिक गणना सञ्चालन तथा सहकार्यका विषयमा आज काठमाडौँमा आयोजित अन्तर्क्रियामा परिसङ्घका अध्यक्ष वीरेन्द्रराज पाण्डेले गणनालाई सफल बनाउन उद्योगी–व्यवसायीका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए। उनले मुलुकको वास्तविक आर्थिक अवस्था चित्रण गर्न आर्थिक गणनाको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे।

राष्ट्रिय तथ्याङ्क कार्यालयका उपप्रमुख तथ्याङ्क अधिकारी ढुण्डीराज लामिछानेले आगामी वैशाख २ गतेदेखि असार ८ गतेसम्म राष्ट्रिय आर्थिक गणना सञ्चालन हुने जानकारी दिए। उनका अनुसार गणनाको पूर्वतयारीस्वरूप चैत १ गतेदेखि ७७ जिल्लामा ८४ कार्यालय स्थापना गरी स्थलगत काम सुरु हुनेछ। गणनामा ३ हजार ९०० गणक र ५०० सुपरीवेक्षक प्रत्यक्ष रूपमा खटिनेछन्।

कार्यालयले मुलुकको समग्र आर्थिक परिदृश्य झल्काउने यो गणनालाई सार्थक बनाउन परिसङ्घसहित विभिन्न व्यावसायिक सङ्घसंस्थाबाट आवश्यक सहयोगको अपेक्षा गरेको छ।

तथ्याङ्क अधिकृत दीनानाथ लम्सालले अनौपचारिक अर्थतन्त्रअन्तर्गत दर्ता नभई सञ्चालनमा रहेका व्यवसायलाई समेत गणनाको दायरामा ल्याई अर्थतन्त्रको वास्तविक आकार पहिचान गर्ने उद्देश्य रहेको बताए।

यसअघि २०७५ सालमा पहिलो राष्ट्रिय आर्थिक गणना गरिएको थियो। परिसङ्घका कार्यकारी महानिर्देशक डा. घनश्याम पाण्डेको अध्यक्षतामा सम्पन्न आजको अन्तर्क्रियामा उद्योगी–व्यवसायीको उल्लेख्य सहभागिता रहेको थियो।

यसैबीच सरकारले राष्ट्रिय आर्थिक गणना–२०८२ का लागि तथ्याङ्क सङ्कलन आदेश–२०८२ स्वीकृत गर्ने निर्णय पनि आजै सार्वजनिक गरेको छ।