काठमाडौँ । नेपाल आयल निगमले एलपी ग्यासको आयात तथा बिक्री–वितरण नियमित रहेको स्पष्ट गर्दै आम उपभोक्तालाई सहज आपूर्तिका लागि आवश्यक व्यवस्था गरिएको जनाएको छ ।
निगमले २०८२ पुस १९ गते प्रकाशित प्रेस विज्ञप्तिको स्मरण गराउँदै आसन्न आम निर्वाचनलाई ध्यानमा राखी फेब्रुअरी महिनाको ग्यास आयात कोटामा थप २ हजार मेट्रिक टन ग्यास समावेश गरिएको जनाएको छ । यसअनुसार हाल दैनिक औसत ११० बुलेटमार्फत एलपी ग्यास नियमित रूपमा आयात भइरहेको निगमको भनाइ छ ।
काठमाडौँ उपत्यकामा बजारीकरण गर्ने करिब २३ वटा ग्यास उद्योगले दैनिक औसत ४० हजार सिलिन्डर बजारमा उपलब्ध गराइरहेका छन् । यद्यपि, माग उच्च रहेकै कारण केही ब्रान्डका ग्यास सिलिन्डर डिलरमार्फत नपाइएको गुनासो आएपछि निगमले सम्बन्धित उद्योग वा बिक्री केन्द्रबाट सिधै खरिद गर्न सकिने व्यवस्था मिलाइएको जनाएको छ ।
निगमका अनुसार नेपाल ग्यास (बालाजु), एभरेष्ट ग्यास (सिनामंगल), साइवावा ग्यास (कलंकी) र श्रीकृष्ण ग्यास (कलंकी) का सिलिन्डर उद्योग वा बिक्री केन्द्रबाट सिधै खरिद गर्न सकिनेछ । ग्यास नपाएको अवस्थामा कार्यालय समयभित्र निगमको हटलाइन नम्बर ०१–५९७१९०२ मा सम्पर्क गर्न पनि अनुरोध गरिएको छ ।
एलपी ग्यासको आयात तथा वितरण नियमित रहेकाले आम उपभोक्तालाई तत्काल आवश्यक मात्रामा मात्र ग्यास खरिद गर्न र अनावश्यक भण्डारण नगर्न निगमले आग्रह गरेको छ ।
आर्थिकन्यूज