एजेन्सी । टी–२० विश्वकप २०२६ अन्तर्गत भारत र पाकिस्तानबीचको खेल आगामी फेब्रुअरी १५ श्रीलंकामा हुने भएको छ। पाकिस्तान सरकारले सोमबार राति सामाजिक सञ्जाल X मार्फत पोस्ट गर्दै यसबारे पुष्टि गरेको हो।
यसअघि पाकिस्तानले बंगलादेशलाई प्रतियोगिताबाट हटाइएको विरोधमा भारतसँगको खेल बहिष्कार गर्ने घोषणा गरेको थियो। तर श्रीलंकाका राष्ट्रपति अनुरा कुमारा दिसानायकेले प्रधानमन्त्री शहबाज शरीफलाई फोन गरेर खेल खेल्न आग्रह गरेपछि र बंगलादेश क्रिकेट बोर्डले पनि सिफारिस गरेपछि पाकिस्तानले निर्णय परिवर्तन गरेको हो।
पाकिस्तान क्रिकेट बोर्ड (PCB) का अध्यक्ष मोहसिन नकवीले प्रधानमन्त्रीलाई हालै भएको बैठकबारे जानकारी दिएका थिए। ती बैठकमा ICC र बंगलादेश क्रिकेट बोर्डका प्रतिनिधिहरू पनि सहभागी थिए। बहुपक्षीय छलफल र मित्र राष्ट्रहरूको अनुरोधलाई ध्यानमा राख्दै पाकिस्तान सरकारले भारतविरुद्ध खेल्ने निर्णय गरेको हो।
पाकिस्तानी मिडियाले PCB का केही शर्तहरू ICC ले स्वीकार गरेको दाबी गरे पनि भारतीय मिडियाले ती माग अस्वीकार गरिएको उल्लेख गरेको छ। पाकिस्तानले राजस्वमा आफ्नो हिस्सा बढाउने, भारत–पाक द्विपक्षीय सिरिज पुनः सुरु गर्ने र खेलमैदानमा ‘ह्यान्डशेक प्रोटोकल’ कडाइका साथ लागू गर्ने माग राखेको थियो।
श्रीलंका क्रिकेट बोर्डले भारत–पाक खेल नभए ठूलो आर्थिक घाटा हुने चेतावनी दिएको थियो। भारत–पाक खेललाई विश्व क्रिकेटमा सबैभन्दा चर्चित भिडन्त मानिन्छ। यसअघि पाकिस्तानले प्रतियोगितामा खेल्ने तर भारतसँग नखेल्ने घोषणा गरेको थियो। तर अब १५ फागुनमा श्रीलंकामा भारत–पाकिस्तानबीच टी–२० विश्वकपको बहुप्रतिक्षित खेल हुने भएको छ।
आर्थिकन्यूज