काठमाडौं। भुजुङ्ग हाइड्रोपावर लिमिटेडको सर्वसाधारणका लागि निष्काशन गरिएको आईपीओको बाँडफाँड आज माघ २७ गते मंगलबार सम्पन्न भएको छ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेडले बिहान ९ बजे गोलाप्रथामार्फत आईपीओ बाँडफाँड गरेको हो।
कम्पनीले माघ १२ गतेदेखि १५ गतेसम्म सर्वसाधारण लगानीकर्ताका लागि कुल ८ लाख ३० हजार कित्ता सेयर निष्काशन गरेको थियो। यस आईपीओमा २५ लाख ७९ हजार ९ सय २० जना लगानीकर्ताबाट आवेदन परेको थियो। जसमध्ये २५ लाख ३९ हजार ८ सय ९२ जनाको आवेदन योग्य ठहरिएका छन् भने ४० हजार २८ आवेदन अवैध भएको क्यापिटलले जनाएको छ।
वैध आवेदनमार्फत कुल २ करोड ७९ लाख ६७ हजार ८५० कित्ता सेयरको माग परेको थियो, जुन कम्पनीले निष्कासन गरेको सेयर संख्याभन्दा बढी हो। मागभन्दा धेरै आवेदन परेपछि गोलाप्रथामार्फत बाँडफाँड गरिएको हो। जसअनुसार ८३ हजार जना लगानीकर्ताले प्रतिव्यक्ति १० कित्ताका दरले सेयर प्राप्त गरेका छन्। बाँकी लगानीकर्ताको हात खाली भएको छ।
भुजुङ्ग हाइड्रोपावर लिमिटेडले लमजुङ जिल्लामा ७.५ मेगावाट क्षमताको माथिल्लो मिदिम जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०८१ वैशाखदेखि व्यावसायिक उत्पादन सुरु गरिसकेको छ।
आईपीओ नतिजा कसरी हेर्ने ?
लगानीकर्ताले तलका माध्यमबाट आईपीओ बाँडफाँडको नतिजा हेर्न सक्नेछन्
कुमारी क्यापिटल लिमिटेडको वेबसाइट
सीडीएससीको आईपीओ रिजल्ट पोर्टल
मेरो सेयर (Meroshare) एकाउन्ट
आर्थिकन्यूज