शीर्षकहरू

एआईको विस्तारसँगै बाल अनलाइन सुरक्षामा चुनौती बढ्दै, सुरक्षित इन्टरनेट दिवस मनाइँदै

एआईको विस्तारसँगै बाल अनलाइन सुरक्षामा चुनौती बढ्दै, सुरक्षित इन्टरनेट दिवस मनाइँदै

ललितपुर । कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको तीव्र विस्तारसँगै बालबालिका तथा युवा वर्गको अनलाइन सुरक्षा थप चुनौतीपूर्ण बन्दै गएको सरोकारवालाहरूले बताएका छन् । ‘स्मार्ट प्रविधि, सुरक्षित छनोटहरू – एआईको सुरक्षित र जिम्मेवार प्रयोगको खोज’ भन्ने मूल नाराका साथ मंगलबार विश्वभर सुरक्षित इन्टरनेट दिवस मनाइँदैछ ।

हरेक वर्ष फेब्रुअरी महिनामा मनाइने सुरक्षित इन्टरनेट दिवसले बालबालिका र युवालाई डिजिटल प्रविधिको सुरक्षित, जिम्मेवार र सकारात्मक प्रयोगतर्फ प्रोत्साहन गर्दै अनलाइन सुरक्षाबारे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संवाद अघि बढाउने उद्देश्य राख्दछ । यस अवसरमा युवा, अभिभावक, शिक्षक, सामाजिक कार्यकर्ता, कानुन कार्यान्वयन निकाय, निजी क्षेत्र तथा नीतिनिर्माताहरूलाई एकै प्लेटफर्ममा ल्याई सुरक्षित इन्टरनेट निर्माणका लागि सामूहिक प्रयासमा जोड दिइन्छ ।

नेपालमा बाल अनलाइन सुरक्षा क्षेत्रमा काम गर्दै आएको संस्था चाइल्डसेफनेटले सुरक्षित इन्टरनेट दिवसको राष्ट्रिय सचिवालयको भूमिकामा रही यसको समन्वय तथा प्रवद्र्धन गर्दै आएको छ । चाइल्डसेफनेटका संस्थापक तथा अध्यक्ष अनिल रघुवंशीले एआई बालबालिकाको दैनिक जीवनको अभिन्न हिस्सा बन्दै गएको अवस्थामा सुरक्षालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।

“सुरक्षित इन्टरनेट दिवस २०२६ ले एआईको प्रयोगसँगै बालबालिकाको अधिकार, संरक्षण र समग्र कल्याणलाई प्रविधिको डिजाइन र निर्णय प्रक्रियाको केन्द्रमा राख्न सरकार, प्रविधि कम्पनी, शिक्षक र परिवारलाई स्पष्ट सन्देश दिन्छ,” रघुवंशीले भने, “एआईले बालबालिकालाई सशक्त बनाउनुपर्छ, जोखिममा पार्न होइन ।”

विशेषज्ञहरूका अनुसार बालबालिका र युवा वर्ग अनलाइन यौन दुव्र्यवहार तथा शोषण, साइबर बुलिङ, ग्यामिङ, फिसिङ र एआईको दुरुपयोगबाट सिर्जित जोखिमको उच्च खतरामा छन् । यी चुनौतीहरूलाई सम्बोधन गर्न सुरक्षित प्रविधि विकास, डिजिटल साक्षरता शिक्षा तथा प्रभावकारी सहयोग प्रणालीमा दीर्घकालीन लगानी आवश्यक रहेको उनीहरूको भनाइ छ । साथै, बालबालिकाका आवाज सुन्नु र उनीहरूले प्रयोग गर्ने डिजिटल प्लेटफर्मको विकासमा उनीहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नु पनि महत्त्वपूर्ण मानिएको छ।

कृत्रिम बुद्धिमत्ताद्वारा सिर्जित सामग्रीसँग सम्बन्धित अनलाइन बाल यौन शोषणका उजुरीहरू विश्वव्यापी रूपमा तीव्र रूपमा बढिरहेको तथ्याङ्कले देखाएको छ । अमेरिकास्थित नेशनल सेन्टर फर मिसिङ एन्ड एक्स्प्लोइटेड चिल्ड्रेनको साइबर टिपलाइनमा सन् २०२५ को जनवरीदेखि जुनसम्म एआई–सम्बन्धित सामग्रीका ४ लाख ४० हजारभन्दा बढी उजुरी दर्ता भएका छन् । यो संख्या सन् २०२४ को सोही अवधिमा प्राप्त ६ हजार ८३५ उजुरीको तुलनामा अत्यधिक वृद्धि हो ।

यसले एआई उपकरणहरूको दुरुपयोग तीव्र गतिमा बढिरहेको र प्रविधि नीति तथा सुरक्षात्मक उपायहरूभन्दा छिटो डिजिटल वातावरण परिवर्तन भइरहेको स्पष्ट संकेत गर्ने विज्ञहरू बताउँछन् । उनीहरूका अनुसार बालबालिकाको सुरक्षा सुनिश्चित गर्न कडा नियमन, ‘सेफ्टी–बाइ–डिजाइन’ उपाय र बहुपक्षीय समन्वय तत्काल आवश्यक छ ।

सुरक्षित इन्टरनेट दिवस २०८२ माघ २७ गते (१० फेब्रुअरी २०२६) मा औपचारिक रूपमा मनाइए पनि अनलाइन सुरक्षासम्बन्धी सचेतना कार्यक्रमहरू वर्षभर सञ्चालन गरिने चाइल्डसेफनेटले जनाएको छ । संस्थाले आफ्ना साझेदारहरूसँग मिलेर देशका विभिन्न भागमा बाल तथा युवा लक्षित अनलाइन सुरक्षा सचेतना गतिविधिहरू सञ्चालन गर्ने तयारी गरेको छ ।