काठमाडौं । नेपालका अधिकांश घरधुरीमा स्मार्टफोन र इन्टरनेटको पहुँच विस्तार भए पनि डिजिटल साक्षरता र प्राविधिक सीपको स्तर अत्यन्तै कमजोर रहेको देखिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको नेपाल बहुसूचक सर्वेक्षण २०२४/२५ ले नेपालमा प्रविधि प्रयोग उपभोगमा सीमित रहँदा उत्पादनमूलक र सीपमूलक प्रयोग न्यून रहेको स्पष्ट पारेको छ।
सर्वेक्षणअनुसार ८५.१ प्रतिशत घरधुरीमा स्मार्टफोन र ८२ प्रतिशतमा इन्टरनेटको पहुँच पुगेको छ। तर व्यावसायिक तथा उत्पादनमूलक कार्यका लागि आवश्यक कम्प्युटर (डेस्कटप, ल्यापटप वा ट्याबलेट) को स्वामित्व १६.८ प्रतिशत घरधुरीमा मात्र सीमित छ। यसले नेपाल ‘मोबाइल–फस्र्ट’ उपभोक्ता समाजतर्फ उन्मुख भए पनि डिजिटल उत्पादक बन्न संघर्षरत अवस्थामा रहेको देखाउँछ।
डिजिटल सीपको अवस्था अझै कमजोर देखिन्छ। डेटा व्यवस्थापनमा आधारभूत मानिने स्प्रेडसिट (एक्सेल) मा गणितीय सूत्र प्रयोग गर्न सक्ने जनसंख्या १०.२ प्रतिशत मात्र छ। कम्प्युटर प्रोग्रामिङ जान्ने ३.१ प्रतिशत र डिभाइस वा डकुमेन्टबीच सामग्री कप–पेस्ट गर्न सक्ने २४.२ प्रतिशत मात्र छन्। पेनड्राइभ, क्यामेरा वा प्रिन्टरजस्ता उपकरण जडान गर्न जान्ने ९.३ प्रतिशत र इलेक्ट्रोनिक प्रेजेन्टेसन बनाउन सक्ने १७.६ प्रतिशत छन्।
यसैगरी, डिजिटल सुरक्षासम्बन्धी सीप पनि कमजोर देखिएको छ। आफ्नो डिभाइस वा एपमा प्राइभेसी सेटिङ मिलाउन जान्ने १९.९ प्रतिशत मात्र छन्। इन्टरनेटमा उपलब्ध सूचनाको विश्वसनीयता जाँच गर्न सक्ने १९.२ प्रतिशत र सुरक्षा फिचर प्रयोग गर्न सक्ने २३.८ प्रतिशत मात्रै रहेको तथ्यांकले डिजिटल जोखिमप्रति जनचेतना कमजोर रहेको संकेत गर्छ ।
सर्वेक्षणले आर्थिक अवस्था, भौगोलिक क्षेत्र, शिक्षा र लैंगिक आधारमा डिजिटल डिभाइड गहिरो रहेको पनि देखाएको छ । सबैभन्दा धनी २० प्रतिशत घरधुरीमध्ये ५३.३ प्रतिशतमा कम्प्युटर भए पनि सबैभन्दा गरिब वर्गमा यो अनुपात १.४ प्रतिशत मात्र छ । कम्तीमा एउटा प्राविधिक सीप भएका व्यक्तिहरू धनी वर्गमा ७६.७ प्रतिशत हुँदा गरिब वर्गमा ४१.५ प्रतिशत मात्र छन्।
सहरी र ग्रामीण क्षेत्रबीच पनि ठूलो अन्तर देखिन्छ। सहरी क्षेत्रमा २१.२ प्रतिशत घरधुरीमा कम्प्युटर भए पनि ग्रामीण क्षेत्रमा यो दर ८.१ प्रतिशतमा सीमित छ । इन्टरनेट पहुँच सहरी क्षेत्रमा ८६.५ प्रतिशत र ग्रामीणमा ७३ प्रतिशत मात्र छ।
लैंगिक दृष्टिले हेर्दा प्राविधिक सीपमा पुरुष महिलाभन्दा अगाडि छन्। कम्तीमा एउटा प्राविधिक सीप भएका पुरुष ६९.७ प्रतिशत हुँदा महिलाको अनुपात ४८.८ प्रतिशत मात्र छ । पछिल्लो तीन महिनामा कम्प्युटर प्रयोग गर्ने पुरुष २४ प्रतिशत भए पनि महिलामा यो दर ११.५ प्रतिशत मात्र देखिन्छ । १५–४९ वर्ष उमेर समूहमा आफ्नै मोबाइल फोन हुने पुरुष ९०.४ प्रतिशत र महिला ८१.६ प्रतिशत छन्।
प्रदेशगत रूपमा पनि असमानता देखिएको छ। बागमती प्रदेशमा ८५ प्रतिशत घरधुरीमा इन्टरनेट पहुँच हुँदा कर्णाली प्रदेशमा ६८.५ प्रतिशतमा मात्र सीमित छ। प्रोग्रामिङ सीप भएका व्यक्तिको अनुपात बागमतीमा ५.२ प्रतिशत रहँदा मधेश प्रदेशमा १.४ प्रतिशत मात्र छ।
आर्थिकन्यूज