शीर्षकहरू

राष्ट्रिय गौरवका आयोजनामा खर्च सुस्त, ६७ अर्ब बजेटमा १० अर्ब मात्रै खर्च

नयाँ परियोजना ढिला, पुराना सडक प्रगतिशील

राष्ट्रिय गौरवका आयोजनामा खर्च सुस्त, ६७ अर्ब बजेटमा १० अर्ब मात्रै खर्च

काठमाडौं । मुलुकको आर्थिक रुपान्तरण र रोजगारी सिर्जनाको लक्ष्य राखिएका राष्ट्रिय गौरवका आयोजनामा चालु आर्थिक वर्ष २०८२-८३ को पहिलो आधा वर्षमा खर्च लज्जास्पद देखिएको छ ।

अर्थ मन्त्रालयको अर्धवार्षिक समीक्षा प्रतिवेदनअनुसार, २३ वटा गौरवका आयोजनाका लागि विनियोजित ६७ अर्ब ८ करोड ६४ लाख रुपैयाँको बजेटको केवल १५.४९ प्रतिशत (१० अर्ब ३९ करोड ३९ लाख) खर्च भएको छ।

राष्ट्रिय गौरवका आयोजनाहरुको प्रगति समीक्षा गर्दा मिश्रित तस्वीर देखिएको छ । पुराना र ठूला सडक आयोजनाहरू अपेक्षाभन्दा छिटो अघि बढेका छन् भने नयाँ र जटिल परियोजनाहरू सुस्त देखिएका छन्। सरकारले यी आयोजनामार्फत पुँजीगत खर्च वृद्धि र रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको थियो। तर, भौतिक प्रगति हेर्दा मिश्रित परिणाम आएको छ ।

समीक्षा अवधिसम्म पुष्पलाल (मध्यपहाडी) राजमार्गको कुल भौतिक प्रगति ८१.७३ प्रतिशत पुगेको छ। हालसम्म १५२९ किलोमिटर सडक कालोपत्रे सम्पन्न भइसकेको छ । यसैगरी, हुलाकी राजमार्गको भौतिक प्रगति ७४.३५ प्रतिशत पुगेको छ । जसको १३८० किलोमिटर सडक कालोपत्रे सम्पन्न भएको छ।

काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्र्याक) को भौतिक प्रगति केवल ४२.१३ प्रतिशत रहेको छ। चालु आर्थिक वर्षको पहिलो ६ महिनामा यसका लागि २ अर्ब ४२ करोड रुपैयाँ खर्च गरिएको छ। मेलम्ची खानेपानी आयोजनाको पहिलो चरण ९९.५२ प्रतिशत पूरा भएको छ । तर मुहान क्षेत्रमा बाढी र प्राकृतिक विपत्तिका कारण अझै समस्या कायम छ।

विमानस्थल क्षेत्रका आयोजना पनि असमान प्रगतिमा छन्। गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न भइसकेको छ भने निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक प्रगति हालसम्म शून्य छ। रेल, मेट्रो रेल र मोनोरेल विकास आयोजना भने ८.१८ प्रतिशत प्रगतिसहित सुरु भएको छ।्

प्रतिवेदनले ढिलाइका मुख्य कारणका रूपमा जग्गा प्राप्ति र मुआब्जा विवाद, रुख कटान तथा वन क्षेत्रको कानुनी जटिलता, डीपीआर टुंगो नलाग्नु, आन्दोलनको प्रभाव जस्ता समस्याहरू औंल्याएको छ।