शीर्षकहरू

विदेशी विनिमय सञ्चितिको थुप्रो : अर्थतन्त्र सुस्तताको प्रतीक

विदेशी विनिमय सञ्चितिको थुप्रो : अर्थतन्त्र सुस्तताको प्रतीक

काठमाडौं । पछिल्लो समय नेपालमा विदेशी विनिमय सञ्चिति बढ्दै गएको छ । चालु आर्थिक वर्ष २०८२/०८३ पौष मसान्तसम्म आइपुग्दा ३२ खर्ब ४२ अर्ब रुपैयाँ बढी विदेशी मुद्रा सञ्चित भएको नेपाल राष्ट्र बैंकको तथ्यांक छ । 

जब की गत आर्थिक वर्ष ०८१/०८२ को अन्त्य (२०८२ असार मसान्त)मा यस्तो सञ्चिति २६ खर्ब ७७ अर्ब रुपैयाँ थियो । पछिल्लो ६ महिनामा मात्रै विदेशी मुद्रा सञ्चिति २१ प्रतिशतले वृद्धि भएको छ । हाल नेपालमा रहेको विदेशी मुद्राले २१.४ महिनाको बस्तु र १८.१ महिनाको बस्तु तथा सेवा आयात गर्न सकिने नेपाल राष्ट्र बैंकको भनाई छ । 

यसरी विदेशी मुद्रा सञ्चिति बढ्दै जानुलाई आर्थविद्हरुले सुस्त अर्थतन्त्रको प्रतीक भएको बताएका छन् । हाल नेपालमा रेमिट्यान्सको वृद्धिले विदेशी मुद्रा थुप्रिएको जानकारहरु बताउँछन् । यसैगरी, डलरको भाउ महँगीदा, बस्तु तथा सेवाको आयात उल्लेख्य रुपमा वृद्धि नहुँदा, निर्यात वृद्धि लगायतका कारणले विदेशी मुद्राको सञ्चिति बढेको अर्थ विज्ञहरुको भनाई छ । 

अर्थविद् चन्द्रमणी अधिकारीका अनुसार नेपालमा विदेशी मुद्रा संकलन हुने ५ वटा छन् । जसमध्ये रेमिट्यान प्रमुख हो । यसैगरी, निर्यात, पर्यटन आगमन, विदेशी लगानी, विदेशी अनुदान तथा ऋण र डलरको मूल्य वृद्धि । 

तर, पछिल्लो समय नेपालमा सञ्चिति बढ्नुको कारण भने रेमिट्यान्स नै रहेको उनको तर्क छ ।

यस्तै, नेपाल राष्ट्र बैंकका सञ्चालक समितिका सदस्य तथा अर्थविद् चिन्तामणि सिवाकोटीले पनि रेमिट्यान्स वृद्धिका कारणले नै हालको विदेशी मुुद्राको सञ्चिति वृद्धि भएको बताउँछन् । तर, यसमा डलरको भाउले पनि असर गरेको उनको भनाई छ । 

उनले भने, 'अहिले विदेशी मुद्राको सञ्चिति बढ्नुको मुख्य कारण भनेको विदेशबाट आएको रेमिट्यान्स नै हो । रेमिट्यान्स बढ्दा विदेशी मुद्रा बढेको हो । तर, यसमा डलरको भाउ, आयात भएको सुस्तताको भुमिका पनि उत्तिकै छ ।’

नेपालमा गत वर्ष बस्तु तथा सेवाको आयात एकदम सुस्त थियो । चालु आर्थिक वर्षमा भने सामान्य वृद्धि भएको छ । सुस्त आयातको कारणले पनि नेपालमा सञ्चित भएको विदेशी मुद्रा खपत कम हुँदा सञ्चिति बढ्न गएको उनको तर्क छ । 

यसका साथै, नेपालले विदेशमा लगानी गर्दा त्यस देशमा भएको ब्याजदर वृद्धिले पनि विदेशी मुद्रा वृद्धि भएको सिवाकोटी बताउँछन् । 

नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुरु प्रसाद पौडेलले पनि विदेशी मुद्रा वृद्धि हुनुको कारण भनेको बढ्दो रेमिट्यान्स नै रहेको बताउँछन् । आर्थिक न्यूजसँग कुरा गर्दै प्रवक्ता पौडेलले भने, 'रेमिट्यान्स वृद्धिले विदेशी मुद्रा बढेको हो । तर, रेमिट्यान्स बढ्नुको पनि कारण छ । युवाहरू वैदेशिक रोजगारीमा जाने ट्रेन्ड झन बढ्दै छ, दक्ष श्रमिकहरू बढ्दै छन्, जापान तथा कोरिया जस्ता देशहरूमा नेपाली युवाहरूको संख्या बढ्दै छ । यसले गर्दा पनि रेमिट्यान्स बढेको हो ।’

त्यसैगरी, डलरको मूल्य बढ्दा पनि नेपालमा भित्रिने रेमिट्यान्स वृद्धि भएको उनको भनाई छ । 

अधिक सञ्चिति : सुस्त अर्थतन्त्रको प्रतीक

अर्थविद् अधिकारीका अनुसार ७ महिनाको बस्तु तथा सेवा आयात गर्न सकिने मुद्रा सञ्चित रहनु देशका लागि पर्याप्त हुने बताउँछन् । उनका अनुसार १८ महिनाको बस्तु तथा सेवा आयात गर्दा धान्ने विदेशी मुद्रा थुप्रिनु भनेको ओभर स्टकिङ हो । 

ओभर स्टकिङ नै देशका लागि समस्या नभएको पनि उनको भनाई छ । तर, कुन स्रोतबाट विदेशी मुद्रा वृद्धि भएको छ भनेर हेर्नु पर्ने उनले बताए । उनले भने, 'यदि नेपालबाट बस्तु तथा सेवा निकासी मार्फत विदेशी मुद्रा वृद्धि भएको भए, पर्यटन आगमनबाट वृद्धि भएको भय राम्रो संकेत मान्न सकिन्थ्यो। तर, यहाँ रेमिट्यान्स वृद्धि भएर विदेशी मुद्रा थुप्रिएको छ, विदेशले दिएको ऋणले विदेशी मुद्रा थुप्रिएको छ, बस्तु तथा सेवा आयात सुस्त भएर थुप्रिएको छ । यसले अर्थतन्त्रमा सुस्त छ भन्ने संकेत गर्दछ ।’

राष्ट्र बैंकका प्रवक्ता पौडेलले अहिलेको ओभर स्टकिङ हुनुले अर्थतन्त्र सुस्त नै छ भन्ने सन्देश दिने बताउँछन् । उनका अनुसार गएका वर्षहरुदेखि नै आयात सुस्त छ, पछिल्लो समय मात्रै सामान्य वृद्धि भएको छ । यसको मतलब व्यवसायीहरुले विदेशबाट बस्तु अड्कलेर आयात गरिरहेका छन् । उपभोगमा कति आएको, बजारमा माग कम भएका कारण बस्तु तथा सेवा आयात घटेको हो र विदेशी मुद्रा बढेको उनको भनाई छ । 

केन्द्रीय बैंकका कार्यकारी निर्देशक समेत रहेका पौडेलका अनुसार यसको मतलब माग सुस्त भएका कारण व्यवसायीहरूलाई बस्तु तथा सेवा ठूलो मात्रामा आयात गर्न कन्फिडेन्स आएको छैन । जबसम्म बजार सुस्त रहन्छ तबसम्म आयात पनि सुस्त नै रहने उनको तर्क छ । 

यस्तै, नेपालका श्रम शक्तिले विदेशमा काम गर्दा विदेशी मुद्रा बढ्नुलाई नेपालले ठूलो अवसर गुमाईरहेको छ भनेर भन्न सकिने पौडेलको भनाई छ । उनले भने, 'ठूलो श्रम शक्तिले विदेशमा काम गरिरहेका देखियो, उनीहरुलाई नेपालमा प्रयोग गर्न पाएको भए देशमा रोजगारी बढ्थ्यो, त्यो श्रम यहाँ खर्चिदाँ उत्पादन बढ्थ्यो, निकासी बढ्थ्यो । यसका अलवा बस्तु तथा सेवा उत्पादन गर्दा त्यसका वा उद्योग धन्दा चल्दा त्यसले समग्र अर्थचक्रमा नै रकरात्मक असर गर्दथ्यो । जुन हामीले गुमाई रहेका छौँ ।’

तर, विदेशी मुद्रा सञ्चित बढ्नुलाई सकारात्मक तरिकाले पनि हेर्न सकिने पौडेल बताउँछन् । विदेशी मुद्रा अधिक हुँदा सरकारमा कन्फिडेन्स बढ्ने, ठूला आयोजना निर्माणका गर्नुपर्दा त्यसका लागि चाहिने मेसिनहरु, कच्चा पदार्थहरू आयात गर्नु पर्दा मुलुक सक्षम रहने उनले बताए । 

यता, सिवाकोटीले भने विदेशी मुद्रा अधिक हुनु, पैसा धेरै हुनु भनेको आफैँमा राम्रा विषय भएको बताए । तर, कुन कारणले विदेशी मुद्रा बढ्यो भन्ने विषय मुख्य रहेको उनको भनाई छ । 

उपभोग नभएर, अर्थतन्त्र सुस्त भएर, बजारमा माग कम भएर, रेमिट्यान्स बढेका कारण विदेशी मुद्रा सञ्चिति बढ्नु भने अर्थतन्त्रका लागि नकारात्मक हो । उक्त सञ्चित रकमलाई यूटिलाईज उनको भनाई छ ।