शीर्षकहरू

रास्वपा उपसभापति अर्याल : ‘यो निर्वाचन सत्ता मात्र होइन, राजनीतिक संस्कृतिको परिवर्तनका लागि’

रास्वपा उपसभापति अर्याल : ‘यो निर्वाचन सत्ता मात्र होइन, राजनीतिक संस्कृतिको परिवर्तनका लागि’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद (डीपी) अर्यालले आज काठमाडौं जिल्लाको नागार्जुन नगरपालिका वडा नम्बर ७ मा घरदैलो कार्यक्रम तथा मतदातासँग प्रत्यक्ष भेटघाट गरेका छन्। 

घरदैलो कार्यक्रमका क्रममा उपसभापति अर्यालले देशको राजनीतिमा लामो समयदेखि दोहोरिँदै आएको असफल नेतृत्व, भ्रष्टाचार र सत्ता केन्द्रित सोचको अन्त्य अब जनताको मतबाट सम्भव हुने स्पष्ट पारे । उनले आगामी निर्वाचन पुरानो र असफल राजनीतिक अभ्यासलाई विस्थापित गर्दै जनउत्तरदायी, इमानदार र परिणाममुखी नेतृत्व चयन गर्ने अवसर भएको उल्लेख गरे। 

मतदातासँगको संवादमा शिक्षा, स्वास्थ्य सेवा, रोजगारी सिर्जना, स्थानीय विकास र सुशासनका विषयहरू प्रमुख रूपमा उठेका थिए । उपसभापति अर्यालले राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावी घोषणापत्रलाई कागजमा सीमित नराखी व्यवहारमा लागू गर्ने प्रतिबद्धता व्यक्त गर्दै, “यो निर्वाचन केवल सत्ता परिवर्तनका लागि होइन, राजनीतिक संस्कृतिको परिवर्तनका लागि हो,” भन्ने सन्देश दिए। 

उनले वैकल्पिक राजनीतिक शक्तिका रूपमा रास्वपा जनताको आवाजलाई निर्णायक शक्तिमा रूपान्तरण गर्ने अभियानमा रहेको बताउँदै परिवर्तन चाहने सम्पूर्ण नागरिकलाई एकजुट हुन आह्वान गरे।