काठमाडौं । एपोलो हाइड्रोपावर लिमिटेडले आगामी फागुन ११ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गर्ने भएको छ ।
कम्पनीले जारी पूँजी ५७ करोड रुपैयाँको ३० प्रतिशत बराबर १४ करोड १० लाख रुपैयाँ मूल्यका १४ लाख १० हजार कित्ता साधारण सेयर निष्काशन गर्न अनुमति पाएको छ । उक्तमध्ये ४ करोड ७० लाख रुपैयाँ बराबरका ४ लाख ७० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ ।
उच्च प्रभावित क्षेत्र ओखलढुंगा जिल्ला खिजिदेम्बा गाउँपालिका वडा नं. ७ र ८ का बासिन्दाले ५० प्रतिशत अर्थात २ लाख ३५ हजार कित्ता सेयर पाउनेछन् । मध्यम प्रभावित क्षेत्रअन्तर्गत सोलुखुम्बु जिल्ला लिखुपिके गाउँपालिका वडा नं. २ र रामेछाप जिल्ला उमाकुण्ड गाउँपालिका वडा नं. ३ का बासिन्दाका लागि ३० प्रतिशत अर्थात १ लाख ४१ हजार कित्ता सेयर छुट्याइएको छ । त्यस्तै न्यून प्रभावित क्षेत्र रामेछाप जिल्ला उमाकुण्ड गाउँपालिका वडा नं. २ र गोकुलगंगा गाउँपालिका वडा नं. १ का बासिन्दाले बाँकी २० प्रतिशत अर्थात ९४ हजार कित्ता सेयर पाउनेछन् ।
यसैगरी सर्वसाधारणका लागि छुट्याइएको सेयरमध्ये १० प्रतिशत अर्थात ९४ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरिनेछ । प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा आवेदन दिन सकिनेछ ।
आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ । स्थानीय बासिन्दाले अधिकतम ४७ हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले अधिकतम ९४ हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।
स्थानीयका लागि निष्काशन छिटोमा फागुन २५ गते र ढिलोमा चैत १० गतेसम्म खुला रहनेछ भने वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छिटोमा फागुन १४ गते र ढिलोमा फागुन २५ गतेसम्म आवेदन दिन सकिनेछ ।
सेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।
स्थानीय बासिन्दाले आयोजना कार्यालय ओखलढुंगा, लक्ष्मी सनराइज बैंकका किन्जा, शिवालय र प्रिति शाखा, नेपाल इन्भेष्टमेन्ट बैंकको खिजिदेम्बा शाखा तथा सिटिजन्स बैंकको लिखुपिके शाखाबाट आवेदन दिन सक्नेछन् । आवेदन फारामका लागि २ रुपैयाँ शुल्क लाग्नेछ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत ‘सी–आस्बा’ प्रणालीबाट आवेदन दिन सक्नेछन् ।
केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयरएनपी डबल बी माइनस’ इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व बहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
कम्पनीले ओखलढुंगामा ६ मेगावाट क्षमताको बुकु खोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । आयोजनाको कुल अनुमानित लागत १ अर्ब ३७ करोड २० लाख ३९ हजार रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २२ करोड ८६ लाख ७३ हजार रुपैयाँ छ । साधारण आधारमा लगानी फिर्ता हुने अवधि ७.७७ वर्ष र डिस्काउन्ट अवधिमा १६.४३ वर्ष अनुमान गरिएको छ ।
ऊर्जा क्षेत्रको लगानीमा स्थानीय सहभागिता बढाउने र वैदेशिक रोजगारीबाट प्राप्त आम्दानीलाई उत्पादक क्षेत्रमा परिचालन गर्ने उद्देश्यसहित कम्पनीले प्राथमिकता समूहमा आईपीओ ल्याएको जनाएको छ ।
आर्थिकन्यूज