शीर्षकहरू

पाल्पा सिमेन्टको आईपीओ फागुन १२ देखि, सर्वसाधारणलाई ४५ लाख कित्ता

पाल्पा सिमेन्टको आईपीओ फागुन १२ देखि, सर्वसाधारणलाई ४५ लाख कित्ता

काठमाडौं। पाल्पा सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले आगामी फागुन १२ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गर्ने भएको छ। कम्पनीले यसअघि उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि पहिलो चरणमा आईपीओ निष्कासन गरिसकेको छ।

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले कम्पनीलाई जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको २० प्रतिशत बराबर ७५ करोड रुपैयाँ मूल्यको ७५ लाख कित्ता साधारण सेयर निष्कासन गर्न अनुमति दिएको थियो। सो अनुमतिअनुसार कम्पनीले पहिलो चरणमा १८ लाख ७५ हजार कित्ता उद्योग प्रभावित स्थानीयका लागि र ५ लाख ६२ हजार ५०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको थियो। त्यस्तै, २ लाख ८१ हजार २५० कित्ता सामूहिक लगानी कोष तथा २ लाख ८१ हजार २५० कित्ता कर्मचारीका लागि बाँडफाँट गरिएको छ।

अब बाँकी रहेको ४५ लाख कित्ता साधारण सेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्कासन गर्न लागिएको हो। प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा निष्कासन हुने उक्त आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ। छिटोमा फागुन १५ गते र ढिलोमा फागुन २६ गतेसम्म आवेदन दिन सकिने बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले जनाएको छ।

सन् २००९ मा स्थापना भएको पाल्पा सिमेन्ट उद्योग नवलपरासीको सुनवलमा सञ्चालनमा छ। कम्पनीले २०७६ वैशाखदेखि क्लिंकर र २०७७ वैशाखदेखि सिमेन्ट उत्पादन सुरु गरेको हो। ‘तानसेन’ ब्रान्डअन्तर्गत ओपीसी, पीपीसी र पीएससी सिमेन्ट उत्पादन गर्दै आएको कम्पनीको दैनिक क्लिंकर उत्पादन क्षमता १ हजार ८०० मेट्रिक टन तथा सिमेन्ट उत्पादन क्षमता २ हजार २०० मेट्रिक टन रहेको छ। कम्पनीले उत्पादनको एक हिस्सा भारतमा समेत निर्यात गर्दै आएको छ।

उद्योगको कुल क्षेत्रफल १० बिघा १३ कठ्ठा १२ धुर रहेको छ भने खानी क्षेत्र १७२ रोपनी ११ आना ३ पैसा १ दाममा फैलिएको छ।

आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले ९ करोड ७३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष २०८०/८१ मा ६ करोड ९८ लाख र २०७९/८० मा ३ करोड ८७ लाख रुपैयाँ खुद नाफा गरेको थियो। हाल प्रति सेयर आम्दानी ३.२४ रुपैयाँ रहेको छ।

कम्पनीको वार्षिक बिक्री आम्दानी ४ अर्ब ११ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षहरूमा क्रमशः ४ अर्ब २२ करोड र ४ अर्ब १२ करोड रुपैयाँ बिक्री भएको थियो। ब्याजदर घटेसँगै वित्तीय लागत घटेर २०८१/८२ मा ५५ करोड ८४ लाख रुपैयाँमा झरेको छ, जुन अघिल्लो वर्ष ६९ करोड ५२ लाख रुपैयाँ थियो।

कम्पनीको दीर्घकालीन ऋण ५ अर्ब ६६ करोड रुपैयाँ रहेको छ। पुनर्मूल्यांकन बाहेक प्रतिसेयर नेटवर्थ ११९ रुपैयाँ र पुनर्मूल्यांकनसहित १३५ रुपैयाँ रहेको छ। कम्पनीसँग १ अर्ब ७ करोड रुपैयाँ जगेडा कोष रहेको छ।

कम्पनीको सेयर संरचनाअनुसार २० प्रतिशत सर्वसाधारण समूहको र ८० प्रतिशत संस्थापक समूहको स्वामित्व रहनेछ। अध्यक्ष राजेशकुमार अग्रवाल र संस्थापक विष्णुकुमार अग्रवालले समान ३६.१२ प्रतिशत सेयर स्वामित्व राखेका छन्।

आईपीओ निष्कासन प्रयोजनका लागि इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई ‘आईआरएन डबल बी प्लस’ इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले कम्पनीको दायित्व वहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको नेट प्रेजेन्ट भ्यालु १२ अर्ब ९९ करोड ८७ लाख रुपैयाँ र इन्टरनल रेट अफ रिटर्न  १३.७८५ प्रतिशत रहेको छ। साधारण लगानी फिर्ता अवधि ६ वर्ष ८ महिना तथा डिस्काउन्टेड लगानी फिर्ता अवधि ९ वर्ष १२ महिना रहेको छ।