काठमाडौं । रिज लाइन इनर्जी लिमिटेडले आज (माघ २८ गते) देखि सर्वसाधारण लगानीकर्ताका लागि प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गरेको छ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरी बाँडफाँट सम्पन्न गरेपछि दोस्रो चरणअन्तर्गत सर्वसाधारणमा आईपीओ ल्याएको हो।
नेपाल धितोपत्र बोर्डबाट कम्पनीले जारी पूँजी १ अर्ब १८ करोड ५० लाख रुपैयाँको २२ प्रतिशत अर्थात् २६ करोड ७ लाख रुपैयाँ बराबरको २६ लाख ७ हजार कित्ता साधारण सेयर निष्कासन गर्ने अनुमति पाएको थियो। यसमध्ये ११ लाख ८५ हजार कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र १ लाख ४२ हजार २०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याएर बाँडफाँट गरिसकिएको छ।
दोस्रो चरणमा कम्पनीले २८ हजार ४४० कित्ता सेयर कर्मचारीका लागि र ७१ हजार १०० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित राखी बाँकी ११ लाख ८० हजार २६० कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो। प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँ तोकिएको छ, जसअनुसार सर्वसाधारणका लागि कुल ११ करोड ८० लाख २६ हजार रुपैयाँ बराबरको सेयर बिक्रीमा आएको छ।
लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। निष्कासन छिटोमा फागुन ४ गते र ढिलोमा फागुन १३ गते बन्द हुने जनाइएको छ।
आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सि–आसब्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयमार्फत सि–आसब्बा प्रणाली प्रयोग गरी आवेदन दिन सकिनेछ। साथै, सिडिएस एण्ड क्लियरिङ लिमिटेडद्वारा सञ्चालित ‘मेरो सेयर’ अनलाइन प्रणालीमार्फत पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
कम्पनीलाई केयर रेटिङ नेपालले ‘केयरएनपी डबल बी इस्यूअर रेटिङ’ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ।
रिज लाइन इनर्जीले गोरखा र लमजुङ जिल्लामा अवस्थित ९.०५ मेगावाट क्षमताको सुपर चेपे खोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ। आयोजनाको कुल लागत २ अर्ब ९ करोड ६० लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २३ करोड १६ लाख रुपैयाँ रहेको छ। आयोजनाको विद्युत उत्पादन अनुमतिपत्रको अवधि अझै ३० वर्ष ११ महिना बाँकी रहेको कम्पनीले जनाएको छ।
आयोजनामा गरिएको साधारण लगानी ७ वर्ष ४ महिनामा र छुट (डिस्काउण्ट) आधारमा १० वर्ष ९ महिनामा फिर्ता हुने अनुमान गरिएको छ। कम्पनीले २०८० माघ ८ गतेदेखि व्यावसायिक उत्पादन सुरु गरी राष्ट्रिय प्रसारण लाइनमार्फत विद्युत बिक्री गर्दै आएको छ।
कम्पनीका अध्यक्ष डा. बसन्त गिरी हुन्। सञ्चालक समितिमा प्रदीप राज गिरी, नारायण कँडेल, दीपेन्द्र हमाल, प्रतिमा तिवारी र अशोककुमार खड्का सदस्य छन् भने डा. विनोद पोखरेल स्वतन्त्र सञ्चालकका रूपमा रहेका छन्। कम्पनीमा सोपान मल्टिपल र मुक्तिनाथ क्यापिटलको समेत उल्लेख्य लगानी रहेको छ।
आर्थिकन्यूज