शीर्षकहरू

विश्वव्यापी भ्रष्टाचार बढ्दो, नेपाल ३४ अंकमै स्थिर

विश्वव्यापी भ्रष्टाचार बढ्दो, नेपाल ३४ अंकमै स्थिर

काठमाडौं । विश्वव्यापी रूपमा भ्रष्टाचार नियन्त्रणको अवस्था झन् कमजोर बन्दै गइरहेका बेला नेपाल भने लगातार दोस्रो वर्ष ३४ अंकमै स्थिर रहेको छ। ट्रान्सपरेन्सी इन्टरनेसनल (टिआई) ले सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांक २०२५ अनुसार नेपालले १०० मध्ये ३४ अंक प्राप्त गरेको हो।

१८० देश समेटिएको सूचकांकमा नेपाल मध्यमभन्दा कमजोर श्रेणीमै परेको छ। सूचकांकमा ० अंक अत्यधिक भ्रष्ट र १०० अंक अत्यन्त पारदर्शी अवस्थाको सूचक हो।

यस वर्ष विश्वव्यापी औसत अंक घटेर ४२ मा झरेको छ। एक दशकअघि ८० भन्दा बढी अंक ल्याउने देशको संख्या १२ रहेकामा २०२५ मा घटेर पाँचमा सीमित भएको छ। टिआईका अनुसार सन् २०१२ यता ५० भन्दा बढी देशमा भ्रष्टाचार नियन्त्रणको अवस्था कमजोर बन्दै गएको छ भने सुधार देखाउने देशको संख्या ३१ मात्रै छ। विश्वका दुई तिहाइ देशले ५० भन्दा कम अंक प्राप्त गरेका छन्।

दक्षिण एसियामा भूटान ७१ अंकसहित अग्रस्थानमा छ। भारत र माल्दिभ्सले ३९, श्रीलङ्काले ३५, नेपालले ३४, पाकिस्तानले २८, बङ्गलादेशले २४ र अफगानिस्तानले १६ अंक पाएका छन्। चीनले ४३ अंक प्राप्त गरेको छ।

टिआई नेपालका अध्यक्ष मदनकृष्ण शर्माले नेपालको अंक लगातार ३४ मै सीमित रहनु भ्रष्टाचारविरुद्ध ठोस सुधार हुन नसकेको संकेत भएको बताए। उनका अनुसार सन् २०२५ को अगस्टसम्मका ६ अन्तरराष्ट्रिय संस्थाका सुशासनसम्बन्धी तथ्यांकका आधारमा मूल्याङ्कन गरिएको हो।

प्रतिवेदनमा सार्वजनिक सेवा प्रवाह, ठेक्का–पट्टा, कर प्रशासन र न्यायिक प्रक्रियामा अझै उच्च भ्रष्टाचार जोखिम रहेको उल्लेख छ। राजनीतिक अस्थिरता, दण्डहीनता, सार्वजनिक पदको दुरुपयोग र पारदर्शिताको अभाव सूचकांक सुधार नहुनुका प्रमुख कारणका रूपमा औंल्याइएको छ।

सूचकांकमा डेनमार्क ८९ अंकसहित लगातार आठौँ वर्ष सबैभन्दा कम भ्रष्टाचार हुने देशका रूपमा शीर्ष स्थानमा छ भने दक्षिण सुडान र सोमालिया ९–९ अंकसहित सबैभन्दा कमजोर अवस्थामा रहेका छन्।

टिआई नेपालका पूर्वअध्यक्ष पद्यिनी प्रधानाङ्गले इमानदार र प्रतिबद्ध नेतृत्व चयन गर्नु भ्रष्टाचार नियन्त्रणका लागि आवश्यक रहेको बताइन्। महासचिव सागरराज शर्माले भ्रष्टाचार निवारणका लागि सबै क्षेत्रबाट समन्वित पहल आवश्यक रहेकोमा जोड दिए।