काठमाडौं । स्थापनादेखि हालसम्म उपभोक्ता अदालतमा ३८ वटा मुद्दा दायर भएको छ । २०८१ चैत २ गते स्थापना भएर चैत ३ गतेदेखि सञ्चालनमा आएको सो अदालतमा एक वर्ष पुग्न लाग्दा ३८ वटा मुद्दा दर्ता भएको हो ।
अदालतका सूचना अधिकारी होमनाथ कँडेलका अनुसार माघ २५ गतेसम्म ३८ वटा मुद्दा दर्ता भएका छन्, सबै मुद्दा क्षतिपूर्ति पाउँन माग गर्दै दर्ता भएका हुन् । जसमध्ये १७ वटा मुद्दाको अदालतले फैसला गरिसकेको छ । दर्ता भएका ४ मुद्दाको भने निवेदन फिर्ता भएको छ । फैसला भएका ४ मुद्दाको वादी र प्रतिवादलाई बोलाएर अदालतले मिलापत्र गराएको छ भने २ वटा मुद्दा खारेज गरिदिएको छ ।
१७ फैसला मध्ये ७ फैसलामा वादीलाई क्षतिपूर्ति उपलब्ध गराउनु पर्ने व्याख्या भएको छ । ३ वटा मुद्दाको भने वादीको दाबी नपुगेको फैसला भएको छ ।
दर्ता भएका मुद्दा मध्ये एक तिहाइ मुद्दा अस्पताल तथा स्वास्थ्य उपचारसँग सम्बन्धित रहेका छन् । अस्पताल तथा स्वास्थ्य उपचारसँग सम्बन्धित ३४ प्रतिशत मुद्दा दर्ता भएको सूचना अधिकारी कडेल बताउँछन् । ३८ वटा मुद्दा मध्ये १३ वटा मुद्दा अस्पताल तथा उपचारसँग सम्बन्धित छन् ।
जहाँ ९० वर्षीय वृद्ध डाक्टरको नेग्लीजेन्सले मृत्यु देखि छापाको उपचार गर्दा छाला बिग्रिएकोसम्मका अस्पतालसम्बन्धी मुद्दा दर्ता भएको छ । ति वृद्धा लडेपछि उपचारका लागि अस्पतालमा पुर्याइएको थियो । अस्पतालको डाक्टरको सानो कमुनिकेशन ग्यापका कारणले ति वृद्धाको मृत्यु भएको भन्दै अदालतले अस्पताललाई क्षतिपूर्ति तिराएको थियो ।
न्यूरो अस्पताल, सिभिल अस्पताल, मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल, कान्ति बाल अस्पताल, नेपाल मेडिकल, नेपाल कोरिया फ्रेण्डशिप नगर अस्पताल, क्यूटिस केयर प्रालि, ओम हस्पिटल एण्ड रिसर्ज सेन्टर, ग्राण्डी सीटी अस्पताल, नर्भिक अस्पताल, एभरेष्ट अस्पताल र डा. जयदेव यादव विरुद्ध उपचारमा क्यरलेस भएको भन्दै मुद्दा परेको थियो । जसमध्ये कान्ति बाल अस्पताल विरुद्ध २ वटा मुद्दा दर्ता भएको थियो ।
यसैगरी, ६ वटा मुद्दा अटोमोबाईल्स सम्बन्धी रहेका छन् । जहाँ सीजी मोटर्सदेखि त्रिवेणी अटोकर्पससम्मलाई प्रतिवादी बनाएर मुद्दा दायर भएको छ । सवारी खदिर गर्दा पुरानो गाडीलाई नयाँ भनेर विक्री गरेको देखि ईभीको ब्याट्री रेन्ज ढाँटेकोसम्मका मुद्दा दायर भएको हो ।
जहाँ एक अटो व्यापारीले २०२४ को मोडल भनेर २०२३ मोडलको गाडी विक्री गरेको र एक मोटर्स कम्पनीले ३०० किलोमिटर रेन्ज भएको ईभी गाडीको रेन्ज ५०० किलोमिटर रहेको भन्दै ढाँटेर गाडी विक्री गरेको भन्दै पिडितले मुद्दा दर्ता गरेका थिए ।
यसैगरी, फाइभ स्टार होटल, इलेक्ट्रोनिक्स पसल, हवाई सेवा कम्पनी, ल्यापटप पसल लगायतलाई प्रतिवादी बनाएर विभिन्न मुद्दा दर्ता भएका छन् ।
उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार उपभोक्ता अदालत गठन भएको हो । सो अदालतमा काठमाडौं, ललितपुर र भक्तपुरमा क्षेत्रभित्र भएको उपभोग सम्बन्धी विषयमा चित्त नबुझे मुद्दा दर्ता गर्न सकिन्छ । यो एक जिल्ला अदालत सरहको अदालत हो । काठमाडौं उपत्यका बाहिर भएको उपभोगको सम्बन्धमा यस अदालतले मुद्दा हेर्दैन । त्यसका लागि साेही जिल्लाकाे जिल्ला अदालतमा जानु पर्दछ ।
लक्ष्मण लम्साल