शीर्षकहरू

ग्लोबल डायरी सार्वजनिक: नेपालकै पहिलो एआई-सञ्चालित एकीकृत डिजिटल इकोसिस्टम सञ्चालनमा

ग्लोबल डायरी सार्वजनिक: नेपालकै पहिलो एआई-सञ्चालित एकीकृत डिजिटल इकोसिस्टम सञ्चालनमा

काठमाडौं । नेपालमा डिजिटल सेवा क्षेत्र विखण्डित र असंरचित रहेको अवस्थामा ‘ग्लोबल डायरी’ नामक एआई–सञ्चालित एकीकृत डिजिटल इकोसिस्टम औपचारिक रूपमा सार्वजनिक गरिएको छ। सामाजिक सञ्जाल, व्यवसाय सूची, समाचार, रोजगारी, कार्यक्रम तथा सरकारी सूचना सेवाहरूलाई एउटै संरचित र भेरिफाइड प्लेटफर्ममा समेट्ने उद्देश्यसहित उक्त प्रणाली सञ्चालनमा ल्याइएको हो।

आयोजकका अनुसार नेपालमा हाल रोजगारी पोर्टल, ई–कमर्स प्लेटफर्म, समाचार पोर्टल र व्यवसाय निर्देशिका छुट्टाछुट्टै रूपमा सञ्चालनमा रहे पनि तीबीच समन्वयको कमी, विश्वसनीय सूचनाको अभाव तथा दीर्घकालीन संरचनाको कमजोरी देखिएको छ। व्यवसायीहरूले महँगो डिजिटल बजारीकरण, वेबसाइट निर्माण तथा खोज इञ्जिन अनुकूलन खर्च व्यहोर्दै आएका छन् भने नागरिकले आधिकारिक सेवा प्रदायक र सरकारी सूचना एउटै स्थानबाट प्राप्त गर्न कठिनाइ भोग्दै आएका छन्।

ग्लोबल डायरीले नागरिक, व्यवसाय र सरकारी निकायलाई एउटै डिजिटल संरचनामा जोड्ने लक्ष्य लिएको जनाएको छ। हाल प्लेटफर्ममा करिब ३ लाख ५० हजार प्रयोगकर्ता आबद्ध रहेको दाबी गरिएको छ। प्रयोगकर्ताले भेरिफाइड प्रोफाइल निर्माण, सेवा प्रदायक खोज, समीक्षा अवलोकन, रोजगारी तथा फ्रीलान्स अवसर प्राप्त गर्ने सुविधा पाउनेछन्।

व्यवसायका लागि निःशुल्क डिजिटल उपस्थिति, किफायती प्रचार–प्रसार, प्रत्यक्ष ग्राहक पहुँच, कर्मचारी भर्ना सहयोग तथा बजारस्थलमार्फत बिक्रीको सुविधा उपलब्ध गराइने जनाइएको छ। उपभोक्ताले प्रमाणित विक्रेता तुलना, गुणस्तर सुनिश्चितता, मूल्यअनुसार सेवा छनोट तथा प्रत्यक्ष संवाद गर्न सक्ने व्यवस्था गरिएको छ।

प्लेटफर्ममा एआई–आधारित सामग्री वर्गीकरण प्रणाली प्रयोग गरिएको छ, जसले संरचित र खोजयोग्य सूचना उपलब्ध गराउने कम्पनीको दाबी छ। स्पाम तथा नक्कली गतिविधि न्यूनिकरण र डाटा गोपनीयतालाई प्राथमिकता दिइएको तथा प्रयोगकर्ताको डाटा बिक्री नगर्ने प्रतिबद्धता जनाएको छ।

सरकारी निकायले भेरिफाइड आधिकारिक पेजमार्फत सूचना, कार्यक्रम र प्रतिवेदन प्रकाशन गर्न सक्ने व्यवस्था गरिएको छ। यसबाट डिजिटल सुशासन, पारदर्शिता र नागरिक सहभागिता प्रवर्द्धन हुने अपेक्षा गरिएको छ।

कम्पनीका अनुसार प्लेटफर्म सरकारी निकायमा विधिवत दर्ता भइसकेको छ र विभिन्न निकायसँग समन्वय प्रक्रिया अगाडि बढाइएको छ। आगामी दिनमा भुक्तानी प्रणाली एकीकरण, मोबाइल एप सुदृढीकरण, साना तथा मझौला व्यवसाय अनबोर्डिङ, ग्रामीण डिजिटल विस्तार तथा रोजगारी र सीप विकास सेवा विस्तार गरिने योजना रहेको छ।

ग्लोबल डायरीले डिजिटल समावेशीकरण, स्थानीय व्यापार प्रवर्द्धन, रोजगारी तथ्याङ्क व्यवस्थापन र पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने लक्ष्य लिएको जनाएको छ। कम्पनीले सबै व्यवसाय, सरकारी निकाय र नागरिकलाई उक्त डिजिटल इकोसिस्टममा आबद्ध हुन आह्वान गरेको छ।