शीर्षकहरू

स्टक डिलरका लागि नेप्सेले सार्वजनिक गर्‍यो ११० कारोबारयोग्य कम्पनीको सूची

स्टक डिलरका लागि नेप्सेले सार्वजनिक गर्‍यो ११० कारोबारयोग्य कम्पनीको सूची

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले धितोपत्र व्यापारी (स्टक डिलर) हरूका लागि कारोबार गर्न मिल्ने ११० वटा कम्पनीको नामावली सार्वजनिक गरेको छ।

नेप्सेले स्टक डिलर कार्य सञ्चालनसम्बन्धी कार्यविधि, २०७७ को परिच्छेद २ को दफा ३(२) बमोजिम मापदण्ड पूरा गरेका कम्पनीहरूलाई दफा ३(३) अनुसार अद्यावधिक गरी उक्त सूची सार्वजनिक गरिएको जनाएको छ। सो कार्यविधिको दफा ३(१) मा भएको व्यवस्थाअनुसार नामावली प्रकाशन गरिएको नेप्सेले स्पष्ट पारेको छ।

सार्वजनिक सूचीअनुसार कारोबारयोग्य कम्पनीमध्ये १९ वटा वाणिज्य बैंक र १० वटा विकास बैंक रहेका छन्। त्यस्तै २ वटा फाइनान्स कम्पनी, २२ वटा लघुवित्त संस्था, १० वटा जीवन बीमा कम्पनी र ११ वटा निर्जीवन बीमा कम्पनी सूचीकृत छन्।

यसैगरी ६ वटा लगानी समूहका कम्पनी, २ वटा उत्पादन समूहका कम्पनी, २४ वटा जलविद्युत कम्पनी, २ वटा होटल तथा २ वटा अन्य समूहका कम्पनीहरू पनि कारोबारयोग्य सूचीमा समावेश गरिएको छ।

नेप्सेले मापदण्डअनुसार योग्य ठहरिएका कम्पनीहरूको सूची समयसमयमा अद्यावधिक गरिने जनाएको छ। उक्त सूचीले स्टक डिलरमार्फत हुने कारोबारलाई थप व्यवस्थित र पारदर्शी बनाउने अपेक्षा गरिएको छ।