काठमाडौं । सिद्धार्थ फर्मास्युटिकल्स लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १० लाख कित्ता साधारण शेयर निष्कासन गर्ने तयारी गरेको जनाएको छ।
आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा कम्पनीले सिद्धार्थ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। यस सम्बन्धमा २०८२ माघ २७ गते काठमाडौंको नक्शालस्थित सिद्धार्थ क्यापिटलको कार्यालयमा दुवै पक्षबीच औपचारिक सम्झौता सम्पन्न भएको छ।
सम्झौतापत्रमा सिद्धार्थ फर्मास्युटिकल्सका तर्फबाट अध्यक्ष डा. ऋषिराम शर्मा तथा सिद्धार्थ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री रितेश श्रेष्ठले हस्ताक्षर गरेका छन्।
वि.सं. २०५३ माघ ११ गते स्थापना भई २०५६ सालदेखि औपचारिक रूपमा उत्पादन सुरु गरेको कम्पनीले गुणस्तरीय, सुरक्षित तथा किफायती औषधि उत्पादनमार्फत नेपाली स्वास्थ्य क्षेत्रमा योगदान दिँदै आएको जनाएको छ। कम्पनीले विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसारको WHO–GMP तथा राष्ट्रिय GMP प्रमाणपत्र प्राप्त गरिसकेको छ।
कम्पनीको मूल उद्देश्य “कुनै पनि बिरामी उच्च गुणस्तरीय र किफायती औषधिबाट वञ्चित नहोस्” भन्ने रहेको छ। रुपन्देही जिल्लाको तिलोत्तमा–१५ मा रहेको यसको अत्याधुनिक उत्पादन प्लान्ट WHO–GMP मापदण्डअनुसार सञ्चालनमा रहेको कम्पनीले जनाएको छ।
आधुनिक भौतिक संरचना र उत्पादन प्रक्रियासहित सञ्चालनमा रहेको प्लान्टमा गुणस्तरीय तथा विश्वस्तरीय उपकरण जडान गरिएको छ, जसले ग्राहकको आवश्यकताअनुसार उच्च गुणस्तरका औषधि उत्पादन सुनिश्चित गर्ने कम्पनीको दाबी छ।
आर्थिकन्यूज