काठमाडौं । क्रिएसन नेपालको आयोजनामा दि कोकाकोला फाउन्डेसनको सहयोगमा सञ्चालित ‘क्लाइमेट स्मार्ट सिटिज’ परियोजनाअन्तर्गत ‘#सफा गरौँ’ अभियानको औपचारिक शुभारम्भ गरिएको छ।
बुधबार पशुपतिनाथ क्षेत्रमा आयोजित कार्यक्रममा विश्व सम्पदा सूचीमा सूचीकृत उक्त क्षेत्रलाई केन्द्रमा राख्दै जिम्मेवार फोहोर व्यवस्थापन र नागरिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित अभियान सुरु गरिएको हो।
कार्यक्रममा कोकाकोला भारत तथा दक्षिणपश्चिम एसियाकी वरिष्ठ निर्देशक सलोनी गोयलले वातावरण संरक्षण र दिगो सहरी विकासका लागि सार्वजनिक–निजी सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै यस्ता पहलले स्थानीय समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरिन्। कोकाकोला बेभरेजेज नेपालका प्रबन्ध निर्देशक अजय कोनाले पनि स्वच्छता प्रवर्द्धनमा निजी क्षेत्रको सक्रिय भूमिका आवश्यक रहेको बताउँदै निरन्तर सहकार्य गर्ने प्रतिबद्धता जनाए।

पशुपति विकास क्षेत्र कोषका कार्यकारी निर्देशक सुभाषचन्द्र जोशीले क्रिएसनसँगको सहकार्यले पशुपति क्षेत्रको सरसफाइमा टेवा पुगेको बताए। ठूलो संख्यामा श्रद्धालु तथा पर्यटक आउने भएकाले फोहोर व्यवस्थापन चुनौतीपूर्ण भए पनि सहकार्यका माध्यमबाट नियमित सरसफाइ कायम राखिएको उनले जानकारी दिए।
वन तथा वातावरण मन्त्रालयअन्तर्गत वातावरण विभागका प्रतिनिधि रविन शाक्यले स्वच्छ वातावरण नागरिकको साझा दायित्व भएको उल्लेख गर्दै दिगो फोहोर व्यवस्थापन प्रणाली विकासमा यस्ता अभियान प्रभावकारी हुने धारणा राखे।
क्रिएसन नेपालकी अध्यक्ष अरुणा कार्कीले सांस्कृतिक तथा पर्यटकीय धरोहरलाई स्वच्छ राख्नु सबैको जिम्मेवारी भएकोमा जोड दिइन्। संस्थापक अध्यक्ष आनन्द मिश्रले कोकाकोला फाउन्डेसनसँगको सहकार्यलाई स्मरण गर्दै विश्वसम्पदा क्षेत्रको संरक्षणका लागि नियमित सरसफाइ आवश्यक रहेको बताए। सल्लाहकार अनिल चित्रकारले वातावरण संरक्षण र दिगो सहरी विकासका लागि सामूहिक पहल अनिवार्य रहेको धारणा व्यक्त गरे।
कार्यक्रमका अवसरमा ‘क्लाइमेट स्मार्ट सिटिज’ परियोजनाअन्तर्गत पुनर्चक्रण गरिएको प्लास्टिकबाट तयार गरिएका ४० भन्दा बढी बेन्च पशुपति क्षेत्रमा जडान गरिएको जानकारी दिइयो।

महाशिवरात्रिको पूर्वसन्ध्यामा सञ्चालन गरिएको सरसफाइ कार्यक्रममा करिब ५०० भन्दा बढी सरसफाइकर्मी, सुरक्षाकर्मी, विद्यार्थी, स्वयंसेवक तथा स्थानीयवासीको सहभागिता रहेको थियो।
क्रिएसनकी कार्यक्रम निर्देशक सुजाता कोइरालाले विश्वसम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ क्षेत्रलाई सफा, स्वच्छ र मर्यादित राख्ने लक्ष्यसहित अभियान सञ्चालन गरिएको बताउँदै यसले दिगो सरसफाइ संस्कृतिको विकासमा योगदान पुर्याउने विश्वास व्यक्त गरिन्। आयोजकका अनुसार ‘क्लाइमेट स्मार्ट सिटिज’ परियोजनाले सहरी क्षेत्रमा फोहोर न्यूनीकरण र स्वच्छ वातावरण निर्माणमा थप सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
आर्थिकन्यूज