शीर्षकहरू

ग्रामीण-अर्धसहरी क्षेत्रमा वित्तीय पहुँच विस्तार गर्न ‘रिभोल्भिङ फन्ड’ सञ्चालनमा समझदारी

ग्रामीण-अर्धसहरी क्षेत्रमा वित्तीय पहुँच विस्तार गर्न ‘रिभोल्भिङ फन्ड’ सञ्चालनमा समझदारी

काठमाडौं । ग्रामीण तथा अर्धसहरी क्षेत्रमा वित्तीय पहुँच विस्तार गर्दै साना तथा मझौला उद्यम (एसएमई) प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना गरिएको ‘रिभोल्भिङ फन्ड’ सञ्चालनका लागि नेपाल राष्ट्र बैंक र राष्ट्रिय वाणिज्य बैंकबीच समझदारी भएको छ।

ग्रामीण तथा अर्ध-सहरी क्षेत्रमा दिगो आर्थिक विकास (Sustainable Economic Development in Rural and Semi-Urban Areas – SEDRA) परियोजना जर्मन विकास बैंक (KfW) को वित्तीय सहयोगमा सञ्चालन हुँदै आएको छ। यस परियोजनाले स्थानीय स्तरमा साना र मझौला उद्यमलाई प्रवर्द्धन गर्दै वित्तीय पहुँच विस्तार गर्न तथा रोजगार सिर्जना र स्थानीय अर्थतन्त्र सुदृढ बनाउन लक्षित रहेको छ।

समझदारीपत्रमा नेपाल राष्ट्र बैंकका तर्फबाट कायममुकायम निर्देशक शिखा अधिकारी रेग्मी र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले हस्ताक्षर गरेका छन्। कार्यक्रममा संघीय गणतन्त्र जर्मनीका महामहिम राजदूत, नेपाल राष्ट्र बैंकका गभर्नर तथा परियोजना र बैंकका पदाधिकारी तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।

उक्त कोषमार्फत ग्रामीण तथा अर्धसहरी क्षेत्रमा वित्तीय सेवा विस्तार गर्नुका साथै उत्पादनमुखी तथा रोजगारी सिर्जना गर्ने साना तथा मझौला उद्यमलाई सहुलियतपूर्ण वित्तीय पहुँच उपलब्ध गराइने अपेक्षा गरिएको छ। यसले स्थानीय अर्थतन्त्र चलायमान बनाउन र दिगो आर्थिक विकासमा टेवा पुर्‍याउने विश्वास गरिएको छ।

वि.सं. २०२२ साल माघ १० गते पूर्ण सरकारी स्वामित्वमा स्थापना भएको राष्ट्रिय वाणिज्य बैंकले हाल सातै प्रदेशका ७७ जिल्ला सदरमुकामसहित दुर्गम क्षेत्रसमेत समेट्ने गरी ३१३ शाखा कार्यालय, ७१ एक्सटेन्सन काउन्टर, ३२२ एटिएम र ९९ शाखारहित बैंकिङ सेवामार्फत ४७ लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ।