काठमाडाैं । पाल्पा सिमेन्ट इण्डष्ट्रीजले आयोजना प्रभावित स्थानीयको लागि निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ। बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्टले आज शेयर बाँडफाँड गरेको हो ।
कम्पनीले स्थानीयलाई कुल १८ लाख ७५ हजार कित्ता शेयर निष्काशन गरेको थियो। यस निष्काशनमा कुल २६ हजार २ सय ४७ जनाले आवेदन दिएका थिए, जस मध्ये २६ हजार ८४ जनाको आवेदन मात्र योग्य भएको छ। आईपीओमा १० कित्ता देखि ८० कित्तासम्मको लागि आवेदन दिनेले माग गरे अनुसार नै शेयर पाएका छन् ।
९० कित्ता देखि २० हजार कित्तासम्मको लागि आवेदन दिनेले समान ८० कित्ता शेयर पाएका छन् । ९० कित्ता देखि २० हजार कित्ताको लागि आवेदन दिनेहरु मध्येबाट गोलाप्रथा मार्फत थप ५ हजार ८ सय ४४ जनाले थप १० कित्ता शेयर पाएका छन् । जस मध्ये लगानीकर्ताले अधिकतम ९० कित्तासम्म शेयर पाएका छन् ।
अब कम्पनीले फागुन १२ गतेदेखि आम सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने छ । कम्पनीले सर्वसाधारणलाई ४५ लाख कित्ता शेयर निष्काशन गर्ने छ । यस निष्काशनमा फागुन १५ गतेसम्म आवेदन दिन सकिने छ। आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ता शेयरको लागि आवेदन दिन सकिने छ। शेयर निष्काशनको लागि नबिल इन्भेष्टमेन्ट बिक्री प्रबन्धक रहेको छ ।
नेपाल धितोपत्र बोर्डले पुस ९ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको थियो। कम्पनीले कुल ७५ करोड रुपैयाँको ७५ लाख कित्ता शेयर निष्काशन गर्ने छ।
यो कम्पनी सन् २००९ मा स्थापना भएको हो। कम्पनीको फ्याक्ट्री नवलपरासीमा रहेको छ। कम्पनीले तानसेन ब्राण्डमा पीपीसी, ओपीसी र पीएससी सिमेन्टको उत्पादन तथा बिक्री गरिरहेको छ। कम्पनीमा आरएमसी ग्रुपको लगानी छ।
आर्थिकन्यूज