काठमाडौँ। स्वास्थ्य बीमा बोर्डले बीमितले पाउने वार्षिक एक लाख बराबरको उपचार सेवा यथावत् राखिएको स्पष्ट पारेको छ। बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार पाँच जना परिवारका लागि ३ हजार ५०० बराबरको योगदान अनुसार वार्षिक एक लाखसम्मको सेवा सुविधा उपलब्ध छ।
बीमा रकमको ५ हजार ओपिडी सेवाका लागि र ७५ हजार अस्पताल भर्ना तथा आकस्मिक सेवाका लागि छुट्याइएको छ। पाँच जनाभन्दा बढी सदस्य भएको परिवारका लागि थप ओपिडी सेवा पाँच हजारसम्म उपलब्ध हुने व्यवस्था गरिएको छ।
बोर्डले अनावश्यक ओपिडी प्रयोग र दोहोरो सेवा रोक्न तथा गम्भीर, जटिल र ज्यान जोखिम हुने रोगको उपचारका लागि स्रोत सुनिश्चित गर्न यसरी छुट्याइएको रकमको पालना गर्न आग्रह गरेको छ।
हाल स्वास्थ्य बीमाको बजेटको ७० प्रतिशतभन्दा बढी हिस्सा सामान्य बिरामीको ओपिडी सेवामा खर्च भइरहेका कारण गम्भीर रोग वा महँगो शल्यक्रियामा बीमाको रकम अपर्याप्त हुने र बिरामीले आफ्नै खर्च गर्नुपर्ने अवस्था सिर्जना भएको विशेषज्ञहरूले चेतावनी दिएका छन्।
आर्थिकन्यूज