काठमाडौँ। बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आफ्नो घाटा घटाउन सफल भएको छ।
कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म ७४ लाख ९१ हजार रुपैयाँको खुद घाटा व्यहोरेको छ, जुन अघिल्लो आवको सोही अवधिको २ करोड ५९ लाख रुपैयाँ घाटासँग तुलना गर्दा उल्लेखनीय कमी हो।
कम्पनीको कुल आम्दानी यस अवधिमा ७८.४३ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो आवमा १ करोड ४६ लाख रुपैयाँको आम्दानी गर्दा, चालु आवमा समीक्षा अवधिसम्म २ करोड ६० लाख रुपैयाँको कुल आम्दानी भएको छ। सञ्चालन आम्दानीमा पनि ३९.४८ प्रतिशतले वृद्धि देखिएको छ।
खर्चमा सुधार आएपछि घाटा घट्न पुगेको हो। वित्त खर्च १ करोड ३२ लाख रुपैयाँबाट घटेर ८५ लाख १६ हजार रुपैयाँमा सीमित रहँदा, सञ्चालन खर्च ४४ लाख ८७ हजार रुपैयाँबाट बढेर ७१ लाख ५२ हजार पुगेको छ।
कर्मचारी सुविधा खर्च ३४ लाख ८६ हजारबाट बढेर ३९ लाख ६१ हजार, प्रशासनिक खर्च २७ लाख ४८ हजारबाट घटेर २७ लाख २२ हजार र बिक्री तथा प्रवद्र्धन खर्च ५४ हजारबाट बढेर २ लाख ३९ हजार पुगेको छ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी ०.२६ रुपैयाँ ऋणात्मक, प्रतिशेयर नेटवर्थ ९२.४७ रुपैयाँ र प्रतिशेयर कुल सम्पत्तिको मूल्य १३८.५६ रुपैयाँ रहेको छ।
कम्पनीको चुक्ता पूँजी २ अर्ब ८२ करोड ९९ लाख रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङ्ग २१ करोड ३० लाख रुपैयाँ ऋणात्मक छ। वित्तीय सुधार र आम्दानी वृद्धि हुँदै गएसँगै कम्पनीले घाटा कम गर्दै वित्तीय स्वास्थ्यमा सुधार गर्ने संकेत देखाएको छ।
आर्थिकन्यूज